३ श्रावण २०८२, शनिबार
Follow Us

विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण पेण्डिङमा छ: एमाले

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०८२, शनिबार १५:५३

काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण पेण्डिङमा रहेको बताएको छ। शनिवार पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको विधानको धारा ८ र ९ आकर्षित हुने भएकाले यो विषय पेण्डिङमा रहेको बताए।

राष्ट्रपति हुनका लागि आफूले पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पार्टीको सदस्यता पुनः नवीकरण गर्ने प्रक्रियामा विधानको धारा आकर्षित हुने उनले जानकारी दिए ।

स्वेच्छाले राजीनामा दिएपछि पुनः आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुनः काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको बताए।

उनले भने, ‘राष्ट्रपति हुनका लागि आफूले पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पार्टीको सदस्यता पुनः नवीकरण गर्ने प्रक्रिया विधानको धारामा आकर्षित छ। अर्को कुनै ठोस प्रक्रिया नभए नयाँ प्रक्रियाबाट आउनु पर्नेतर्फबाट पनि ध्यानाकर्षण भएको छ। यसमा विभिन्न कोणबाट छलफल भएको छ। अहिले निष्कर्षमा पुगेका छैनौँ। स्वेच्छाले राजीनामा दिएपछि पुनः आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुनः काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ। उचित समयमा निर्णय लिन्छ। नवीकरण पेण्डिङ अवस्थामा छ।’

उनले बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुने विषयमा गम्भीरतापूर्वक छलफल भएको र ठोस निष्कर्षमा नपुगेको बताए।

धेरै पढिएको