लण्डन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको आन्तरिक किचलो अन्त्य गरी एकताबद्ध भएर आउन आग्रह गरेका छन्।
अक्टोबर २०२५ मा प्रस्तावित ‘एनआरएन इन्भेस्टमेन्ट समिट २०२५’ का सन्दर्भमा एनआरएनए नेता महेश कुमार श्रेष्ठसँगको भेटमा अध्यक्ष ढकालले संस्थाभित्रको विवादले सकारात्मक सन्देश नपठाउने भन्दै सम्मेलन सफल बनाउन सबै एनआरएनहरू एकजुट हुनुपर्नेमा जोड दिए।
सो अवसरमा अध्यक्ष ढकालले सम्मेलनमा निजी क्षेत्रको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै एनआरएनहरूलाई नेपालमा दीगो लगानी गर्न तथा नीतिगत सुधारका पहलमा समेत साझेदारी गर्न आह्वान गरे। उनले नेपालमा लगानीका लागि पर्याप्त अवसरहरू, परियोजनाहरूको स्पष्ट पाइपलाइन र आकर्षक प्रतिफलको सम्भावना रहेको पनि बताए।
ढकालले नेपाल उद्योग वाणिज्य महासंघ र एनआरएनएबीच रणनीतिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्तो सहकार्यले नेपालमा लगानीका नयाँ सम्भावनाहरू उजागर गर्न सकिने विश्वास व्यक्त गरे।
अक्टोबरमा आयोजना हुने उक्त सम्मेलनमा एनआरएन लगानीकर्ता, स्वदेशी लगानीकर्ता, विकास साझेदार, नेपाल सरकारका नीतिनिर्माता तथा सरोकारवाला निकायहरूको सहभागिता रहने जनाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रविकिरण अधिकारीसहित अध्यक्ष ढकाललाई भेट्न पुगेका महेश श्रेष्ठले सम्मेलनको प्रमुख उद्देश्यहरूमा नेपालमा लगानीमैत्री वातावरण प्रवर्द्धन, रोजगारी सिर्जना, औद्योगिकीकरणमा सहयोग, विज्ञान तथा प्रविधिको स्थानान्तरण, एनआरएनलाई दीर्घकालीन साझेदारको रूपमा सुदृढीकरण, तथा सरकार–निजी क्षेत्र–डायस्पोरा त्रिपक्षीय सहकार्यको निर्माण रहेको जानकारी दिए।