काठमाण्डौं — गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी अमेरिका) को सन् २०२५ जुलाई २७ र २८ मा हुने निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। निर्वाचन प्रक्रियामा सहभागी हुने आकांक्षीहरूले तोकिएको म्यादभित्र आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराइसकेका छन् ।
यसैबीच केही समूहहरूबाट अर्को निर्वाचनको सम्भावनाबारे प्रचारप्रसार हुन थालेपछि, गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) अन्तर्गतको निर्वाचन समितिले मङ्गलवार एक आधिकारिक सूचना पत्र जारी गर्दै यस्ता भ्रमपूर्ण गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। सूचना अनुसार, एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन प्रक्रिया यसअघि नै वैधानिक र औपचारिक रूपमा सुरू भइसकेकोले अब अर्को निर्वाचन सम्भव छैन।
अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) ले गठन गरेको निर्वाचन समिति प्रमुख निर्वाचन आयुक्त अनुप श्रीवास्तवको नेतृत्वमा रहेको छ। समितिमा रविन आर. बज्राचार्य सदस्य सचिवका रूपमा, भुवन आचार्य, छत्र गुरुङ र पूर्ण बानियाँ सदस्यहरूका रूपमा छन्। निर्वाचन समिति गैरआवासीय नेपाली संघको विधान, पारदर्शिता र निष्पक्षताको मूल्य मान्यताका आधारमा निर्वाचनको सम्पूर्ण प्रक्रिया सञ्चालन गरिरहेको छ।
निर्वाचन प्रक्रिया सम्पन्न भएपछि नवगठित कार्यसमितिलाई गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) ले आधिकारिक कार्यसमिति रूपमा मान्यता प्रदान गर्नेछ। यो मान्यताले नवगठित कार्यसमितिलाई एनसीसी अमेरिकाको सम्पूर्ण अधिकार र जिम्मेवारी प्रदान गर्नेछ।
त्यसैगरी आगामी अक्टोबर २०२५ मा हुने गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशनमा एनसीसी अमेरिकाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरू यही नव-निर्वाचित कार्यसमितिबाट चयन गरिनेछ। निर्वाचन सम्पन्न भएपछि एनआरएनए एनसीसी अमेरिकासँग सम्बन्धित सम्पूर्ण सम्पर्क, संवाद तथा समन्वयका लागि यही नवगठित कार्यसमिति मात्र एकमात्र आधिकारिक सम्पर्क निकाय हुनेछ।