काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गणतन्त्रमा झार पलाएको टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘गणतन्त्र त आएको तर झार पलाएर गणतन्त्रका फूलहरू खोज्नुपर्ने भएको’ उनको टिप्पणी थियो ।
‘गणतन्त्रमा झारपात उम्रिएका छन् । गणतन्त्रका फूलहरू हेर्न झारहरू पल्टाएर हेर्नुपर्ने भयो । नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरूका झारपातहरू मौलाएका छन् । कुन फूल र कुन झारपात भन्नेमा नेपाली जनता अलमलमा परेका छन्,’ विप्लवले भने, ‘बर्खामा च्याउ उम्रिएका जस्ता झारपात उम्रिएका जस्ता राजनीतिक दलहरू छन् । गणतन्त्रमा बर्खामा उम्रिएका झारपातहरू छन् । गणतन्त्र त आयो तर झारपातले ढाक्यो ।’
कम्युनिष्ट आन्दोलनलाई एकता नै आवश्यक रहेको तर त्यसका लागि निश्चित दृष्टिकोणको जरुरी रहेको उनको भनाइ थियो ।
‘हामी हरेक समयमा एकताको कुरा गर्छौँ तर हामीभित्र उकुसमुकुस छ । हामीलाई चाहिएको एकता नै हो । हामीलाई चाहिएको मोर्चा नै हो । सहकार्य र सहयात्रा नै हो । त्यसको लागि एउटा निश्चित दृष्टिकोण नै हो,’ उनले भने, ‘नेपाली समाजको नयाँ व्याख्या जरुरी छ । ‘प्रचण्ड’हरूले निर्णय गर्नुभएको थियो, यो पहाड भत्काएको हामीले हो । नि:शर्त हो । आज पनि भत्काउँछौँ । दलालहरूलाई कुनकुन खाल्डोमा हाल्नुपर्छ भन्ने राम्रोसँग थाहा छ ।’
महासचिव चन्दले निश्चित दृष्टिकोणसहित अघि बढेर कम्युनिष्ट एकतालाई अझ बलियो बनाउनुपर्ने बताए ।