९ श्रावण २०८२, शुक्रबार
Follow Us

‘कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छ’-सभापति देउवा

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०८२, बिहीबार १५:४३

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताएका छन्।

संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन कठिन हुने उनको भनाइ छ ।

नेपाली काँग्रेस धादिङका पूर्वसभापति स्व. भरतप्रसाद उप्रेतीको १३औँ दिनको तिथिमा धुनिवेशी नगरपालिका-७ नौबिसेमा आयोजित श्रद्धाञ्जलीसभा सभापति देउवाले बहुमत ल्याउने वातावरण सृजना गर्नका लागि गुटको अन्त्य गर्न जरुरी रहेको धारणा राखे ।

“अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ । संविधानमा सबै जातिहरूको प्रतिनिधित्व भएको छ । कुनै एक पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ”, उनले भने, “बहुमत ल्याउने वातावरण बनाउनका निम्ति पार्टी एकता जरुरी छ । एकताको सुरुवात धादिङबाटै गर्नुहोस् ।”

काँग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराइदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरूरी रहेको बताए । स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा प्रतिशोधको भावनाले पार्टी कमजोर बन्ने उनको भनाइ थियो ।

काँग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, शशांक कोइरालालगायत केन्द्रीय नेताहरू र धादिङ जिल्ला सभापति एवं कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, पूर्वसभापति रमेश धमलासहित नेताहरुले श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै स्व नेता उप्रेतीका विगतका संघर्ष सम्झँदै प्रशंसा गरे ।

विक्रम संवत् १९८५ मा धादिङको नौबिसेमा जन्मिएका काँग्रेस नेता उप्रेतीको ९७ वर्षको उमेरमा २०८२ असार २८ गते काठमाडौँको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

धेरै पढिएको