९ श्रावण २०८२, शुक्रबार
Follow Us

एनआरएनए यूकेको निर्वाचनको सम्पूर्ण तयारी पूरा

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०८२, बिहीबार १९:२६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी शनिबार (२६ जुलाई) हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन समितिले बिहीबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अनलाइन मतदानका लागि आवश्यक सबै व्यवस्थाहरू सम्पन्न भएको जानकारी दिएको हो।

निर्वाचन समितिका संयोजक रामशरण सिमखडाले भेरो (Vero) प्रणालीमार्फत मतदान सम्पन्न गरिने जानकारी दिँदै सबै दर्ता भएका सदस्यहरूलाई समयमै भोट दिन आग्रह गरे। उनका अनुसार मतदाता सदस्यहरूले इमेलमार्फत प्राप्त हुने मतपत्रमा आफ्नो मत हाल्नुपर्नेछ, जसका लागि फेस भेरिफिकेशन प्रक्रिया अनिवार्य गरिएको छ।

संयोजक सिमखडाले निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सात सदस्यीय पर्यवेक्षण समिति गठन गरिएको जानकारी दिए। उक्त निर्वाचनको अवलोकनका लागि संघकी महिला संयोजक अनुजा प्रधान विशेषरूपमा बेलायत आउनेछिन्। उनले निर्वाचनको नतिजा मतदान सम्पन्न भए लगत्तै सार्वजनिक गरिने पनि बताए।

पत्रकार सम्मेलनमा संघका सल्लाहकार चिरञ्जीवी ढकालले भेरो प्रणाली यसअघि पनि सफलतापूर्वक प्रयोग भइसकेको हुँदा यसपालिको अनलाइन मतदान प्रक्रिया सहज हुने विश्वास व्यक्त गरे। उनले फेस भेरिफिकेशनमा सामान्य समस्या आउन सक्ने सम्भावना रहेको भन्दै त्यस्तो अवस्थामा निर्वाचन समितिसँग सम्पर्क राख्न आग्रह गरे। निर्वाचन समितिको तयारी व्यवस्थित र पारदर्शी रहेको उनको भनाइ थियो।

त्यस्तै, सहकोषाध्यक्ष कृष्ण तिमल्सिनाले मतदाताहरूलाई सहजीकरण गर्न समितिले आवश्यक सहयोग उपलब्ध गराउने जानकारी दिए। उनले सबैलाई अनलाइन मतदानमा सक्रिय सहभागिता जनाउन अपील गरे। पत्रकार सम्मेलनको सञ्चालन निर्वाचन समितिका सदस्य–सचिव श्याम लुइँटेलले गरेका थिए।

सम्मेलनमा पाँच जना निर्वाचन आयुक्त एउटै स्थानमा उपस्थित हुन नसकेको, केन्द्रीय प्रतिनिधिहरूको अधिकारिकता र सदस्यता सम्बन्धी विषयमा केही जिज्ञासा उठाइएको थियो।

एनआरएनए यूकेको निर्वाचन यही शनिबार सम्पन्न हुँदैछ। अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् भने महासचिव, उपाध्यक्ष, सचिव र राज्य परिषद्का केही पदहरूमा पनि प्रतिस्पर्धा हुने भएको छ।

धेरै पढिएको