१२ श्रावण २०८२, सोमबार
Follow Us

परिवर्तनका अजेण्डा संरक्षणको लागि अध्यक्षमा उम्मेदवारी : डा. हेम राज शर्मा, उपाध्यक्ष, एनआरएनए

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०८२, आईतवार २३:५२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संस्थाको नेतृत्व चयन प्रक्रियामा व्याप्त पैसा र राजनीतिक हस्तक्षेपको अन्त्य गर्न विश्वभरका पञ्जीकृत सदस्यमार्फत प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने धारणा राखेका छन्।

एनआरएनए यूकेको महाधिवेशनको अवसरमा आइतवार अल्डरशटमा आयोजित विशेष कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै डा. शर्माले संघको आन्तरिक संरचनामा व्यापक सुधारको खाँचो रहेको बताए।

उनले भने, “संघको निर्वाचनमा पैसा र राजनीति हावी हुँदा सबैलाई नेतृत्वमा पुग्ने अवसर मिल्दैन। यसले संस्थाको समावेशीता र विश्वसनीयता दुवैमा आँच पुर्‍याएको छ। आगामी दिनमा पञ्जीकृत सदस्यहरुले प्रत्यक्ष मतदानमार्फत नेतृत्व चयन गर्ने प्रणालीले ‘एनआरएनए फर अल’ को सन्देश स्थापित गर्न सकिन्छ।”

डा. शर्माले एनआरएनएमा पेशेवर वर्गको सहभागिता कमजोर भएको उल्लेख गर्दै संस्थालाई सबैलाई अटाउने साझा मंचको रूपमा रुपान्तरण गर्न आफू कटिबद्ध रहेको स्पष्ट पारे।

२० वर्षभन्दा लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय रहँदै महासचिव र उपाध्यक्षजस्ता जिम्मेवारी सम्हालेका डा. शर्माले आगामी अक्टोबरमा काठमाडौँमा हुने १२औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी स्वाभाविक भएको बताए।

“मैले महासचिवको भूमिकामा रहँदा स्मार्ट एनआरएनए, एमआईएस प्रणाली, अनलाइन मतदानजस्ता महत्वपूर्ण रुपान्तरणका अजेण्डा अघि सारेको थिए। ती अजेण्डाहरूलाई संस्थागत र दीर्घकालीन बनाउने उद्देश्यले आगामी कार्यकालको नेतृत्वमा जान चाहन्छु,” उनले भने।

डा. शर्माले प्रविधिको प्रभावकारी प्रयोगमार्फत सदस्यता र सहभागिता बढाउन सकिने उल्लेख गर्दै अहिलेको जस्तो ‘मतदाता बनाउने’ प्रवृत्तिको सट्टा स्वयं सदस्य बन्ने सहज व्यवस्था आवश्यक रहेको धारणा राखे।

संस्थाको केन्द्रमा देखिएको विभाजनले राष्ट्रिय समितिहरुमा समेत जनसहभागिता घट्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले संस्थाको विश्वसनीयता र गतिशीलता पुनःस्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए।

आगामी कार्यकालमा आफू ‘परिणाममुखी, दिगो, बहुआयामिक, पारदर्शी, र उत्तरदायी एनआरएनए’ निर्माणमा केन्द्रित हुने बताउँदै उनले ज्ञान, सीप, नवप्रवर्तन र नेपाल सरकारसँगको साझेदारीलाई संस्थाको प्राथमिक एजेण्डा बनाउने प्रतिबद्धता जनाए।

एनआरएनएको १२औं महाधिवेशन आगामी अक्टोबर दोस्रो सातामा काठमाडौँमा हुनेछ। सो महाधिवेशनले संघको नयाँ नेतृत्वको चयन गर्नेछ।

धेरै पढिएको