१७ श्रावण २०८२, शनिबार
Follow Us

जनकपुरमा खुकुरी प्रहार गरी एक किशोरीको हत्या

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०८२, शुक्रबार ०६:५१

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–४ मा खुकुरी प्रहार गरी एक किशोरीको हत्या भएको छ । उक्त घटनामा अन्य दुई जनालाई घाइते बनाएको अभियोगमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–९ ईच्छापुरका ३५ वर्षीय रामबाबु साह हुन् ।

साउन १४ गते राति महेन्द्रनगरबाट पक्राउ परेका साहलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । घटनामा प्रयोग गरिएको खुकुरी र गाडी समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका रामबाबु साह यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । २०७१ सालमा आफ्नै जेठी श्रीमतीको हत्या गरेको अभियोगमा उनी पक्राउ परी झन्डै पाँच वर्ष जेल बसेका थिए ।

२०७७ सालमा जेलमुक्त भएपछि उनले दोस्रो विवाह गरेका थिए र पछिल्लो समय आशा यादवसँग प्रेम सम्बन्धमा थिए । साहले साउन १२ गते राति करिब ११:३० बजे जनकपुरधाम–४ स्थित डेरामा बस्दै आएकी आशा यादव, उनकी छोरी अन्जलीकुमारी यादव र भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए ।

अन्जलीको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

धेरै पढिएको