१७ श्रावण २०८२, शनिबार
Follow Us

कोभेन्ट्रि नेपाली समाजद्वारा ७ वटा कोचसहित पारिवारिक र बालमैत्री वेल्स भ्रमण सम्पन्न

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०८२, शुक्रबार १२:५२

रमेश खनाल – कोभेन्ट्रि

बेलायतमा सक्रिय नेपाली संस्था कोभेन्ट्रि नेपाली समाजले २०२५ को ग्रीष्मकालीन पारिवारिक बस यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ। जुलाई ३१ (बिहीबार) सम्पन्न उक्त भ्रमणमा करिब ४०० जना सहभागी भएका थिए। सहभागीहरूको सुविधा र सहजताका लागि समाजले ७ वटा कोच (बस) रिजर्भ गरी व्यवस्थित यात्राको व्यवस्था गरेको थियो।

यसपटकको भ्रमण समर विदाको अवसरमा, विशेषगरी बालबालिका र पारिवारिक सहभागितालाई प्राथमिकतामा राखेर आयोजना गरिएको हो। समुद्र, पहाड र हरियालीको आनन्द दिने उद्देश्यले भ्रमण गन्तव्यका रूपमा वेल्सस्थित स्नोडोनिया राष्ट्रिय निकुञ्ज र लियान्डो समुद्री किनारा लगायतका आकर्षक पर्यटकीय स्थलहरू समावेश गरिएको थियो।

समाजका अध्यक्ष सन्तोष रेग्मीका अनुसार भ्रमणस्थलको छनोट मौसम, दृश्य सौन्दर्य र पारिवारिक उपयुक्ततालाई मध्यनजर गरी गरिएको हो। उहाँले भन्नुभयो,

“यो यात्रा सिर्जनात्मक मात्र नभई बालबालिकाका लागि शैक्षिक र सामाजिक रूपमा उपयोगी बनोस् भन्ने हाम्रो उद्देश्य थियो।”

बस समूह विभाजन तथा नेतृत्व
सहभागीहरूलाई ७ वटा कोचमा विभाजन गरी प्रत्येक कोचका लागि जिम्मेवार व्यक्ति (लीडर) तोकिएको थियो:

कोच १: सुवास अधिकारी

कोच २: मणी सापकोटा

कोच ३: रमेश कडेल

कोच ४: नारायण रेग्मी

कोच ५: राजन बस्नेत

कोच ६: प्रकाश वाग्ले

कोच ७: राजन लामिछाने

सफल व्यवस्थापनमा योगदान
कोभेन्ट्रि नेपाली समाजका महासचिव बाबुराम भुषालले यस भ्रमणले बालबालिकालाई शैक्षिक रूपमा पनि सशक्त बनाउन मद्दत पुर्‍याएको बताउनुभयो। भ्रमणस्थलको पूर्व-अवलोकन, स्थान छनोट तथा व्यवस्थापनमा वारविक युनिभर्सिटीका प्रोफेसर डा. प्रदीप लामिछाने र आईटी इञ्जिनियर कृष्ण शर्माको विशेष योगदान रहेको थियो।

समाजको निरन्तर सामाजिक भूमिका
कोभेन्ट्रि नेपाली समाजले पछिल्ला केही वर्षयता नेपाली भाषा कक्षा, सांस्कृतिक कार्यक्रम तथा सामाजिक सहकार्य गर्दै आइरहेको छ। समाजले विशेषगरी कोभेन्ट्रिमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी बालमैत्री, पारिवारिक र सामुदायिक जोड दिने गतिविधिहरू सञ्चालन गरिरहेको छ।

समाजका अनुसार भ्रमणमा सहभागी अभिभावक र बालबालिकाबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ। आगामी दिनमा अझ शैक्षिक, सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

धेरै पढिएको