लण्डन । लयमा रहेका जुड बेलिङ्घमले गरेको दुई गोलको मद्दतले इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा आइतबार नर्वेलाई अतिरिक्त समयको खेलमा २–१ ले पराजित गरेको छ र सेमिफाइनलमा प्रवेश गरेको छ । अब अन्तिम चारमा इंग्ल्यान्डले अर्जेन्टिना र स्विटजरल्यान्डबीच हुने खेलको विजेताको सामना गर्नेछ ।
यसअघि नै फ्रान्स र स्पेनले सेमिफाइनल यात्रा तय गरिसकेका छन् । मियामी स्टेडियममा आइतबार भएको खेलमा इंग्ल्यान्डले एक गोलले पछाडि रहेको स्थितिबाट पुनरागमन जित रचेको हो । नर्वेले ३६ औं मिनेटमा अग्रता लिएको थियो र यो गोल आन्ड्रेस सेरडरपको नाममा रह्यो ।
उनले कठिन कोणबाट गोलको खाता खोलेका थिए । रियल म्याड्रिडका बेलिङ्घमले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा बराबरी गोल फर्काए । उनले नर्वेका चार डिफेन्डरबाट घेरिएको स्थितिमा कडा प्रहार गर्दै आकर्षक गोल गरेका थिए । दोस्रो हाफमा थप गोल भएन ।
यस्तोमा खेल अतिरिक्त समयमा गएको थियो । त्यसकै ९३ औं मिनेटमा बेलिङ्घमले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए । मोर्गन रोजर्सको सुरुआती प्रहार नर्वेली गोलरक्षक ओरजन नाइल्यान्डले रोके पनि त्यसमै फर्केको बलमा बेलिङ्घमले नजिकबाट गोल गरेका थिए ।