काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खपेका लामाले आज राजीनामा दिने भएका हुन् ।
उपनेता चित्रकारले काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख आज हेटौंडा फर्किए उनलाई राजीनामा बुझाउने र उनी हेटौंडा नफर्किए पनि कार्यालयमा राजीनामा पत्र दर्ता हुने भएको हो । लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री कांग्रेस दलको नेताको रूपमा इन्द्र बानियाँ हुनेछन् ।
सत्तासाझेदार दल नेकपा एमालेसँग एक वर्षअघि सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार अब हुने भनिएका मुख्यमन्त्री बानियाँले ८ महिना सरकार सञ्चालन गर्नेछन् । पूर्वसहमति अनुसार बानियाँले आगामी फागुनबाट एमालेलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने एमालेले बताइसकेको छ ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । छलफलमा सहभागी संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सभापतिसहितको भेटपछि राजीनामा दिन लामा तयार भएका हुन् ।
मुख्यमन्त्री लामाको प्रस्ताव अनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने दुई बुँदामा सहमति भएपछि मार्गप्रशस्त गर्न तयार भएका हुन् ।
लामाले यसअघि कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरूको गत बुधवार नै सपथको तयारी गरेपनि सत्ता साझेदार दल नेकपा एमालेको असहमतिमा सपथ ग्रहण रोकिएको थियो ।