लन्डन – राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभागले बेलायतमा आफ्नो संगठन विस्तारलाई तिव्रता दिँदै साउथ वेस्ट लन्डनमा नयाँ क्षेत्रीय समिति गठन गरेको छ। उत्तर ह्यारोस्थित साराज रेस्टुरेन्टमा आयोजित कार्यक्रममा समितिको औपचारिक घोषणा गरिएको हो। कार्यक्रममा प्रवास विभाग यूकेका उपाध्यक्ष र महासचिवको प्रमुख आतिथ्यता रहेको थियो।
नवगठित साउथ वेस्ट लन्डन क्षेत्रीय समितिको समन्वयकमा चयन हुनुभएको छ भने उपाध्यक्षमा पुरुषोत्तम खड्का, सचिवमा दिव्या शर्मा, उपसचिवमा सुरज ढकाल र कोषाध्यक्षमा किरण न्यौपाने चयन भएका छन्। यस्तै सदस्यहरूमा रमेश जैसवाल, गोकर्ण अधिकारी, गीता बश्याल, सौगत पाण्डे र हिमाल बश्याल चयन भएका छन्। समितिमा थप एक पद चाँडै थपिने जानकारी दिइएको छ।
समितिको घोषणा गर्दै बोल्नुहुँदै उपाध्यक्षले नवगठित टोलीलाई बधाई दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभागले प्रवासमा रहेका नेपालीहरूको हकहित र समृद्ध नेपाल निर्माण अभियानमा योगदान पुर्याउन गठन गरिएका क्षेत्रीय समितिहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले साउथ वेस्ट लन्डन समितिले स्थानीय नेपाली समुदायसँग प्रत्यक्ष सम्पर्क राख्दै पार्टीको नीति, विचार र उद्देश्यलाई फैलाउने कार्यमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभयो।
केन्द्रीय समिति यूके विभागका महासचिवले हालसम्म बेलायतमा पाँचभन्दा बढी क्षेत्रीय समिति गठन भइसकेको उल्लेख गर्दै निकट भविष्यमा सम्पूर्ण यूकेभर संगठन विस्तार गर्ने योजनामा प्रवास विभाग रहेको जानकारी दिनुभयो। उहाँले प्रवासी नेपालीहरूलाई संगठित गर्दै पारदर्शिता, जवाफदेहिता र सुशासनमा आधारित राजनैतिक चेतना फैलाउने कार्यलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी गराउनुभयो।
कार्यक्रममा महासचिवले भन्नुभयो, “हामी प्रवासमा रहेका नेपालीहरूको हक–अधिकारको संरक्षण, सामाजिक सेवा र राजनीतिक जागरणमा सक्रिय भूमिका खेल्दैछौं। साउथ वेस्ट लन्डन समितिले पनि यही भावनालाई आत्मसात गर्दै उदाहरणीय कार्य गर्ने विश्वास लिएको छौं।”
नवगठित समितिले आगामी दिनहरूमा प्रवासमा रहेका नेपालीहरूको समस्या समाधान, सामाजिक उत्तरदायित्वमा सहभागिता तथा पार्टीका नीति र कार्यक्रमहरूलाई जरोसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभागले आगामी दिनहरूमा बेलायतका विभिन्न क्षेत्रमा समिति विस्तार गर्ने र विश्वभर रहेका नेपालीहरूको सक्रिय सहभागितालाई संस्थागत गर्ने अभियानलाई अझ तीव्रता दिने योजना रहेको जनाएको छ।