काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा आएको बाढीपहिरोमा परि जुम्ला र जाजरकोटका ७ जनाको मृत्यु भएको छ भने जाजरकोटका १३ जना र बर्दियाका ५ जना सम्पर्कविहीन छन्।
मंगलबारको भारी वर्षाका कारण उत्तरकाशीको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालमा पहिरो गएको थियो। नेपालीहरू यी दुवै घटनामा परेको अनुमान गर्दै स्थानीय तहहरूले सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन्।
जाजरकोटको कुशे गाउँपालिका २ का १३ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको स्थानीय तहले उद्धारको पहल गरेको छ। गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार पालिकाका अन्य वडाका व्यक्ति पनि हराएको आशंका छ। कुशे गाउँपालिकाका–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंहको मृत्यु भएको मानबहादुर सिंहका छोरा नवीनले जानकारी दिएका छन् ।
२१ वर्षका नवीन बुवासँगै काम गर्न गएका थिए । उनीसँगै सोही वडाका अनुमानित २० जना काम गर्दै आएको नवीनले जानकारी दिएको वडाध्यक्ष मानबहादुर सिंहले बताए । यस्तै जुम्ला तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका नाम नखुलेका अर्का एक जना पनि बाढीपछि सम्पर्कविहीन रहेको आफूले जानकारी पाएको अध्यक्ष बस्नेतले बताए ।
बेपत्ता हुनेमा बर्दियाका मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का एकै परिवारका ३, मधुवन–५ गाउँ नम्बर ८ का १ र मधुवनकै वडा नखुलेका १ जना छन्। पहिरोमा परी मधुवन–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र २ वर्षीय छोरा रोमन बेपत्ता भएको नरेन्द्रका काका उद्धव खड्काले बताए । गाउँ नम्बर ८ का ४५ वर्षीय रामु परियारकी श्रीमति अमृता र मधुवनकै २१ वर्षीय सुवास विक पनि पहिरोमा बेपत्ता छन् ।
जाजरकोटको कुशे गाउँपालिकाले आज विज्ञप्ति जारी गरी बेपत्ता भएकाहरुको खोजीका लागि आवश्यक कूटनीतिक पहल गर्न संघीय सरकारलाई आग्रह गरेको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले घटनाबारे कुशे गाउँपालिकाले निकालेको विज्ञप्तिलाई आधिकारिक मानेर गृह मन्त्रालयसँग उद्धार र खोजी कार्यका लागि आवश्यक समन्वय गरिदिन पहल गरेको बताए ।
गाउँपालिकाले सम्पर्कविहीन भएकाहरुको खोजी तथा उद्धार गरिदिने संघ सरकारमार्फत भारत सरकारलाई आग्रह गरेको छ । यसैबीच नयाँ दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर प्रकाश मल्लले उत्तराखण्डको बाढीमा बेपत्ता नेपालीको खोज तथा उद्धार गरिदिन भारतीय पक्षसँग पहल गरिरहेको बताए ।