काठमाडौं । ८६ मेगावाटको सोलुखोला आयोजना सञ्चालन गरिरहेको साहस ऊर्जाले एक वर्षमै दोब्बर बढी नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९० करोड २७ लाख रुपैयाँ छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ४२ करोड ३ लाख रुपैयाँ थियो । विद्युत् बिक्री आम्दानी बढ्नु र बैंकको ब्याज घट्दा कम्पनीको नाफामा उच्च वृद्धि देखिएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २ अर्ब ६४ करोड रुपैयाँको बिजुली बेचेको छ । अघिल्लो वर्ष बिजुली बिक्री आम्दानी २ अर्ब ४४ करोड थियो । त्यस्तै वित्तीय लागत अघिल्लो वर्ष १ अर्ब १६ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ८० करोड ५ लाख रुपैयाँ छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८८ पैसा छ । प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ छ । कम्पनीले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनामा समेत लगानी गर्ने निर्णय गरेकोछ ।
हाल कायम चुक्ता पूँजीमा शत प्रतिशत हकप्रद सेयर जारी गर्ने साधारणसभाको निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाइएको कम्पनीले स्पष्ट पारेको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७७ रुपैयाँ छ ।