२६ श्रावण २०८२, सोमबार
Follow Us

नवनिर्वाचित एनआरएनए पदाधिकारी भेला : ५२ देशका करिब ८ सय प्रतिनिधिको सहभागिता

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०८२, आईतवार २१:०८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जुलाई महिनाभित्र निर्वाचन सम्पन्न गरेका विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का अध्यक्ष, पदाधिकारी र सदस्यहरूको सम्मानमा विशेष स्वागत कार्यक्रम सम्पन्न गरेको छ।

आइतवार भर्‍चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीले केही व्यक्तिहरू आडम्बरको आवरणमा ‘एकताको नाटक’ गर्दै आएको टिप्पणी गरे। उनले साधारण सभा र निर्वाचन दुवै एनसीसीको वैधानिक अधिकार भएको उल्लेख गर्दै, यी प्रक्रियालाई सहज र सफलतापूर्वक सम्पन्न गराएकोमा सबै एनसीसीहरूप्रति धन्यवाद व्यक्त गरे।

अध्यक्ष केसीले सदस्यता वितरणमा देखिएका उतार–चढावबारे चर्चा गर्दै, “केही समूहले प्रवासी नेपालीको सदस्यता लिने अधिकार नै खोस्ने प्रयास गरेकोमा दुःख लागेको” बताए। उनले बिषम परिस्थितिमा पनि केन्द्रप्रतिको विश्वासका कारण सदस्यता वितरणदेखि निर्वाचनसम्मको सम्पूर्ण प्रक्रियामा सक्रिय सहभागिता जनाई नयाँ कार्यसमिति गठन गरेको एनसीसीहरूको सराहना गरे।

“यदि कसैले बाटो बिराउँछ भने खबरदारी गर्नुहोस्, हामी पुनः विधि, विधान र सत्यको बाटोमा फर्किन्छौं,” अध्यक्ष केसीले जोड दिए। उनले गत जुलाई महिनामा ५८ एनसीसीले अधिवेशन र निर्वाचन सम्पन्न गरेकोमा सन्तोष व्यक्त गरे।

कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष डा. हेमराज शर्माले ‘गैरआवासीय नेपाली संघको यात्रा’ शीर्षकमा प्रस्तुति दिँदै, नेपालको संविधानमा २०७२ सालदेखि गैरआवासीय नेपालीको परिभाषा प्रवेश पाएसँगै यो विषय नेपालकै राजनीतिक वृत्त र विश्वव्यापी नेपाली डायस्पोरामा स्थापित भएको बताए। उनका अनुसार, गैरआवासीय नेपालीहरूले विगत केही वर्षमै नेपालमा करिब एक खरब रुपैयाँ लगानी गरिसकेका छन्। साथै, एनआरएनएले मात्र एक अर्ब रुपैयाँ बराबरका च्यारिटी कार्यक्रम सम्पन्न गरेको जानकारी दिए।

महिला उपाध्यक्ष रोजिना प्रधान राईले संघको गरिमा एनसीसीहरूकै बलमा रहेको भन्दै, विधि र कानुनको पालना गर्दै संघको प्रतिष्ठा अझ उचाल्न सुझाव दिइन्।

कार्यक्रममा केन्द्रीय उपाध्यक्षद्वय रामशरण सिंखडा र रबिनप्रसाद शेरचन, प्रवक्ता फणिन्द्र पन्त, महिला संयोजक अनुजा प्रधान, डिआरसी रोबर्ट लिम्बु, युरोप सचिव भुवन अर्याल, सह–कोषाध्यक्ष कञ्चन थापा, सचिव पारसमणि पोख्रेल, ओसियाना क्षेत्रीय संयोजक दिनेश पोख्रेल, अमेरिका क्षेत्रीय संयोजक बेध बस्नेत र महासचिव गौरीराज जोशीले पनि नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे।

त्यस्तै, एनसीसी बेलायत, स्पेन, क्यानडा, जापान, अष्ट्रेलिया, न्युजिल्यान्ड, पपुआ न्यूगिनी, अमेरिका, रुवाण्डा, टर्की, ओमन, हङकङ, कङ्गो, पोर्चुगल, नेदरल्याण्ड, स्विडेन, साउथ सुडान, ब्राजिल, कोलम्बिया, डेनमार्क लगायत ५२ देशका करिब ८ सय नवनिर्वाचित अध्यक्ष तथा प्रतिनिधिहरूले संघको आगामी कार्यदिशा, अनुभव र सुझाव प्रस्तुत गरेका थिए।

धेरै पढिएको