धरान (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एक-आपसमा ठोक्किँदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एक-आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। उनका अनुसार निधन हुनेको पहिचान हुन सकेको छैन ।
घाइतेहरूको इनरुवा,विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।