लन्डन – हाल बेलायतको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले ब्रिटिश सांसद एलेक्स बेकरसंग भेटवार्ता गरी ब्रिटिश सेनाबाट सेवा निवृत्त भूतपूर्व गोर्खा सैनिकका पेन्सन लगायतका माग जति सक्दो चाडो पुरा गर्न आग्रह गरेका छन् ।
सत्तारुढ लेबर पार्टीकी सांसद तथा अल पार्टी पार्लियामेन्टरी ग्रुप (एपीपीजी) अन नेपाल’ की अध्यक्ष बेकरसंग अल्डरशटमा भएको भेटमा घिसिङले नेपाल बेलायत बीचको ऐतिहासिक सम्बन्ध, नेपालको उर्जा क्षेत्र, नेपालको वर्तमान राजनीतिक अवस्था लगायतका विषयमा जानकारी गराएका थिए ।
घिसिङले जलविद्युत लगायत नेपालको विकासमा निरन्तर सहयोगका लागि बेलायत सरकारलाई धन्यवाद दिंदै जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिउँ पग्ली रहेका कारण उत्पन्न चुनौतीसंग जुध्न ब्रिटिश सरकारको सहयोगका लागि आग्रह पनि गरे । उनले सुशासन, समृद्धि र आशा जगाउन आफुले ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको बताए। उनले ब्रिटिश सांसदलाई थांका उपहार पनि दिए ।
उक्त भेटघाटमा सांसद बेकरले भूतपूर्व गोर्खा सैनिकका मागहरु पुरा गराउन आफुले आफ्नो ठाउँबाट पहल गरिरहेको बताइन्। अल्डरशटबाट प्रतिनिधित्व गर्ने सांसद बेकरले गोर्खा सैनिकहरुको वीरताको प्रशंसा गर्दै उनीहरु बेलायतका भरपर्दो साथी भएको बताइन्। उनले जलवायु परिवर्तनले नेपाल लगायतका मुलुकहरुलाई पुराइ रहेको असरबारे चिन्ता व्यक्त गर्दै एपीपीजीको माध्यमबाट ब्रिटिश सरकारको ध्यानाकर्षण गर्ने बताइन्। उनले बेलायतमा नेपाली डायस्पोराको योगदानको प्रशंसा पनि गरिन्।
भेट वार्तामा नेपाल-बेलायत गोर्खा मुद्दाका एकजना वार्ताकार सेवानिवृत्त मेजर जुद बहादुर गुरुङ, एपीपीजी नेपालकी सचिव प्रेमीला भान ओमेन तामांग, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डे समेत उपस्थित थिए।
अमेरिकाको दुइ साता लामो भ्रमण सकेर बेलायत आइ पुगेका घिसिङसंग एनआरएनए युकेका दुवै समूहले अन्तरक्रिया गर्न लागेका छन्। उनी २४ अगष्टमा तमु धीं युकेले आयोजना गर्न लागेको १६ औं नेपाली मेलामा पनि सहभागी हुनेछन् ।