ताप्लेजुङ। बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा जित निकाल्दै सिराहाको सलहेस युवा क्लब अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। झापाको रेड स्टार फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै सलहेस युवा क्लब फाइनलमा पुगेको हो।
सलहेशको जितका लागि विदेशी मुलका खेलाडी युसुफ मलिकले खेल सुरु भएको १३ औं मिनेटमा पहिलो गोल गर्नुभएको थियो। त्यस्तै खेलको मध्यान्तरपछिको ४८ औं मिनेटमा मलिकले नै अर्को गोल थप्नुभयो। खेल अवधिभर गोल फर्काउने अधिक प्रयास गरे रेड स्टार झापा सफल बन्न सकेन। रेड स्टारले सेमिफाइनमा हार बेहोरेसँगै फाइनलमा पुग्न नपाई प्रतियोगिताबाट बाहिरिनुपरेको छ।
यता सेमिफाइनल खेल जितेसँगै सलहेसले चर्च ब्वाइज क्लब ललितपुरसँगको फाइनल भिडन्त पक्का गरेको छ। चर्च ब्वाइज भने बुधबार भएको पहिलो सेमिफाइनलमा सुनसरीको द योङ ब्रदर्स क्लब इटहरीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। सेमिफाइनलमा चर्च ब्वाइज र द योङ ब्रदर्स क्लबले निर्धारित समयावधिमा बराबरी एक–एक गोल गरेका थिए। अब प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ।
लाखेजात्राको अवसरमा खेलाइएको यसवर्षको प्रतियोगितामा आयोजक टोलीका तर्फबाट तेल्लोक स्पोर्टिङ क्लबसहित आठ टोली सहभागी भएका थिए। प्रतियोगितामा आयोजक तेल्लोक स्पोर्टिङ क्बल, फिदिम स्पोर्टिङ क्लब पाँचथर, साहारा क्लब पोखरा र अन्तराष्ट्रिय पाहुना टोली भारतको लिजेन्ट फुटबल एकेडेमी सिलिगुढी क्वार्टरफाइनल चरणको खेलबाटै बाहिरिएका छन्।
यसवर्ष प्रतियोगिताको उपाधि विजेताले सात लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छ। त्यस्तै उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ राशिको नगद पुरस्कार पाउने छ। यसवर्ष प्रतियोगितामा सबोत्कृष्ट हुने खेलाडीले १५० सिसीको यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्ने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो। लाखेजात्राको अवसरमा आयोजना गरिँदै आएको प्रतियोगिता साउन २४ गतेदेखि सुरु भएको थियो।