लन्डन – तमुधिं यूकेले नेपाली दूतावासको सहकार्यमा आउँदो २४ अगष्टका दिन केम्पटन पार्क रेसकोर्समा आयोजना हुने १६औं नेपाली मेलाको तयारी पूरा भएको जनाएको छ। आइतबार मिचेटस्थित भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत तयारीबारे जानकारी दिइयो।
संस्थाले झण्डै ५१ हजार पाउण्ड खर्च हुने अनुमान गरिएको मेलामा ३५ भन्दा बढी संघसंस्थाका झाँकी, १५ भन्दा बढी सांस्कृतिक प्रस्तुति, करिब ७० स्टल, हस्तकला, परम्परागत भेषभूषा तथा नेपाली परिकारहरूको प्रदर्शन रहने जनाएको छ।
मेला संयोजक एवं उपाध्यक्ष कमल कोने गुरुङले मेलामा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथी र उज्यालो नेपाल अभियन्ता, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ विशेष अतिथी हुने जानकारी दिए। साथै, बेलायतस्थित विभिन्न देशका कूटनीतिक नियोग, नेपाल र युरोपबाट पनि सहभागिता हुने अपेक्षा गरिएको छ।
संयोजक गुरुङले यसपटकको मेलाले अघिल्ला वर्षको गौरवलाई निरन्तरता दिँदै नेपाली संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन तथा बेलायतमा नेपाली उत्पादनको बजार विस्तार गर्ने उद्देश्य लिएको बताए। अध्यक्ष जुमकाजी गुरुङले मेला तमुधिं यूकेको मात्र नभई सम्पूर्ण नेपाली समुदायकै साझा पर्व भएको उल्लेख गर्दै सहभागी भई सफल बनाउन सबैलाई अपिल गरे। उनले गत वर्ष गोर्खा कपबाट संकलित रकममध्ये १० प्रतिशत रकम नेपालको लमजुङमा च्यारिटी कार्यमा खर्च गरिएको र यसपटक पनि आम्दानी बचत भए सामाजिक कार्यमै लगाइने जनाए।
महासचिव डा. विशाल गुरुङले अग्रजको मार्गदर्शनमा नेपाली मेलालाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै मेलाको मौलिक विशेषता हराउने चिन्ताले ठूलो परिवर्तन नगरिएको स्पष्ट पारे। वरिष्ठ उपाध्यक्ष परशु गुरुङले दोस्रो पुस्ताले पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
मेलाको नारा “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” तय गरिएको छ। १२ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क प्रवेश दिइनेछ भने अन्य दर्शकका लागि प्रवेश तथा पार्किङ शुल्क ५ पाउण्ड रहनेछ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालन गर्दै हेल्थ एण्ड सेफ्टी ब्रीफ प्रस्तुत गरेका थिए। मिडिया सेक्रेटरी एसके गुरुङले पत्रकारहरूको परिचय गराउँदै सम्मान गरेका थिए। साथै, मेलाका लागि नेपालबाट आएका विशेष अतिथीहरूलाई पनि सम्मान गरिएको थियो।
पत्रकार सम्मेलनमा तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु मेजर रिटायर्ड डमर घले, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, हरि गुरुङ, उपाध्यक्ष दिलमाया गुरुङ, सचिव विमल गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, महासचिव शान्ता गुरुङ, ट्रष्टी सूर्य गुरुङसहित पदाधिकारी, सल्लाहकार र विभिन्न रिजनल समितिका प्रतिनिधिहरूको उपस्थिति थियो।