आयरल्यान्डको काउन्टी किल्डेयरमा आइतबार बिहान भएको दुईवटा कारबीचको भीषण दुर्घटनामा पाँच किशोरको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
गार्डाका अनुसार दुर्घटना बिहान करिब ३ बजे M9 मोटरवेको जंक्शन ३ नजिक उत्तरतर्फ जाने लेनमा भएको हो। पाँचै मृतक एउटै कारमा सवार किशोर थिए। उक्त कार मोटरवेमा गलत दिशातर्फ गुडिरहेको अवस्थामा अर्को कारसँग ठोक्किएको बताइएको छ।
मृतक किशोरहरूको शव घटनास्थलबाट निकालेर नास जनरल अस्पताल लगिएको छ। उनीहरूको पोस्टमार्टम गरिने गार्डाले जनाएको छ।
दोस्रो कारमा सवार ३० वर्ष आसपासका एक महिला चालक र अगाडिको सिटमा रहेकी अर्की महिला गम्भीर अवस्थामा छन्। उनीहरूलाई टालाघ्ट युनिभर्सिटी अस्पताल लगिएको छ। पछाडिको सिटमा रहेकी २० वर्ष आसपासकी एक महिला यात्रुलाई सेन्ट लुक्स जनरल अस्पताल लगिएको छ भने उनी पनि गम्भीर अवस्थामा रहेको बताइएको छ। सोही कारमा रहेका एक बालकलाई चिल्ड्रेन्स हेल्थ आयरल्यान्ड, क्रमलिनमा उपचारका लागि लगिएको छ।
दुर्घटनापछि M9 को जंक्शन ३ देखि जंक्शन ४ सम्मको उत्तर तथा दक्षिणतर्फ जाने सडकखण्ड बन्द गरिएको छ र वैकल्पिक स्थानीय मार्गको व्यवस्था गरिएको छ।
गार्डा कमिस्नर जस्टिन केलीले दुर्घटनामा घाइते भएका परिवारका सदस्यहरू निर्दोष रूपमा यात्रा गरिरहेका बेला गलत दिशाबाट आएको कारले ठक्कर दिएको बताए। उनले घटनालाई “भयानक” भन्दै गलत दिशामा तीव्र तथा लापरवाहीपूर्ण रूपमा सवारी चलाउनु अत्यन्तै गैरजिम्मेवार र खतरनाक भएको बताए।
केलीले सामाजिक सञ्जालमा ‘लाइक’ र ध्यान पाउने उद्देश्यले समेत कतिपय अवस्थामा यस्तो जोखिमपूर्ण ड्राइभिङ हुने गरेको उल्लेख गर्दै यसले निर्दोष मानिससहित चालक स्वयंको जीवनमा विनाशकारी असर पार्न सक्ने चेतावनी दिए।