काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० क्रिकेट श्रृखला अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाकिस्तानको साहिन्सविरुद्ध खेल्दैछ ।
डार्विनस्थित मरारा क्रिकेट मैदान टु मा हुने खेल आज दिउँसो तीन बजेपछि शुरु हुनेछ । श्रृखलाका शुरुवाती तीन खेलमा लगातार हार व्यहोरेको नेपाली टोलीले पछिल्ला दुई खेलमा भने जित निकालेको छ ।
नेपाली टोली अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद् अन्त्य गर्ने प्रयासमा हुनेछ । तीन खेलमा हार र दुई खेलमा जित निकालेको नेपाल ४ अंकसहित तालिकाको सातौँ स्थानमा छ । श्रृखलाका पाँच मध्य तिन खेलमा जित र दुई खेलमा हार भोगेको पाकिस्तानको टोली ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
यसअघिका दुई खेलमा नेपालले मेलवर्न रेनेगड्स एकेडेमीलाई ३३ तथा होवर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको थियो । मेलवर्न स्टार्स एकेडेमीसँग भने ३१ तथा बंगलादेश ए सँग ३२ रनले पराजित भएको थियो । श्रृखलाको पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।
सिरिजमा सहभागी ११ टिममध्ये अंक तालिकाको सातौं स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ । चार अंकसहित तालिकाको सातौं स्थानको नेपालले पाकिस्तानलाई पराजित गरेमा सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना कायम रहन्छ ।
६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको पाकिस्तान विजयी भए नेपाल समूहचरणबाट बाहिरिने छ । समूहका शीर्ष चार टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।