लण्डन । जेनजी आन्दोलनको क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनमा समेत आगजनी भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी गरी फर्किएका एक समूहले संघको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनीको प्रयास गरेको बताइएको छ।
संघका अध्यक्ष डा. बद्री केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा र त्यसपछि पनि देशभर भएका सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाप्रति एनआरएनए स्तब्ध भएको प्रतिक्रिया दिएका छन्। बालुवाटारस्थित संघको मुख्य सचिवालय र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको निजी निवासमा भएको आगजनीप्रति गहिरो दुःख प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ।
आन्दोलनकारीहरूले भवनभित्र पार्क गरिएका दुईवटा सवारीसाधनमा आगजनी गर्नुका साथै पहिलो तलामा सामान्य तोडफोड गरेको भए पनि सचिवालय कक्षमा भने ठूलो क्षति नभएको जनाइएको छ।
गैरआवासीय नेपाली संघले शुक्रबारदेखि केन्द्रीय कार्यालय नियमित रूपमा सञ्चालन हुने जनाएको छ।