२६ आश्विन २०८२, आईतवार
Follow Us

सुपर सिक्सको पहिलो खेलमा यूएईसँग भिड्दै नेपाल

नेपालब्रिटेन संवाददाता
२६ आश्विन २०८२, आईतवार ०५:१८

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग खेल्दैछ । समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको नेपालले समूह ‘ए’ को विजेता यूएईसँगको भिडन्तलाई आफ्नो विश्वकप यात्राको महत्त्वपूर्ण खुड्किलोका रूपमा लिएको छ ।

शुक्रबार जापानमाथि ५ विकेटको शानदार जित हासिल गर्दै समूह चरणको अपराजित यात्रा कायम राखेको नेपालका लागि यूएई चुनौतीको पहाड बन्न सक्छ । यसअघि कुवेतलाई ५८ रनले पराजित गर्दै नेपालले आफ्नो सानदार प्रदर्शनको संकेत दिइसकेको छ । आज दिउँसो ४:१५ बजे सुरु हुने यो रोमाञ्चक भिडन्तमा दुवै टोली पछिल्लो समय उत्कृष्ट लयमा रहेकाले खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । यूएईलाई हराउन सके नेपालको विश्वकप यात्राका लागि बलियो आधार तयार हुनेछ ।

२०२६ मा भारत र श्रीलंकामा आयोजना हुने विश्वकप खेल्नका लागि सुपर सिक्समा शीर्ष तीनमा पर्नु अनिवार्य छ । यसका लागि नेपाललाई कम्तिमा तीन जित आवश्यक पर्नेछ, यद्यपि दुई जितले पनि रनरेटका आधारमा सम्भावना कायम राख्न सक्छ ।

आजको खेल नेपालको विश्वकप सपनाका लागि निर्णायक मोड बन्न सक्छ । खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई पराजित गर्न सके, यसले नेपालको विश्वकप यात्रामा नयाँ ऊर्जा प्रदान गर्नेछ ।

धेरै पढिएको