२७ आश्विन २०८२, सोमबार
Follow Us

विश्वकप यात्राको संघारमा नेपाल, आज कतारसँग भेट

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०८२, सोमबार ०४:५७

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल आफ्नो विश्वकप यात्रा लगभग सुनिश्चित गर्ने लक्ष्यका साथ कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको नेपालले यसअघि नै समूह ‘ए’ को विजेता संयुक्त अरब इमिरेट्स (यूएई) लाई रोमाञ्चक खेलमा १ रनले पराजित गर्दै महत्वपूर्ण ४ अंक जोडेको छ । आज राति ८:४५ बजे ओमानमा हुने खेलमा अंकविहीन कतारमाथि जित निकाल्दै नेपाल २०२६ को टी-२० विश्वकपमा आफ्नो स्थान पक्का गर्ने दाउमा छ ।

सुपर सिक्सको अंकतालिकामा नेपाल र ओमान समान ४-४ अंकका साथ क्रमशः दोस्रो र शीर्ष स्थानमा छन् । उत्कृष्ट रनरेटका कारण ओमान पहिलो स्थानमा रहँदा नेपालले दोस्रो स्थान सुरक्षित गरेको छ । २-२ अंक जोडेका यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने कतार र सामाओ अझै खाता खोल्न सकेका छैनन् ।

नेपालका लागि कतारविरुद्धको खेल विश्वकप प्रवेशको लागि निर्णायक मोड बन्न सक्नेछ । कतारमाथि सहज जित निकाल्न सकेमा नेपालको शीर्ष तीनभित्र पर्ने सम्भावना झन्डै शतप्रतिशत हुनेछ । सुपर सिक्समा नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्न बाँकी छ ।

नेपालको आगामी खेल तालिका:
सोमबार (असोज २७): नेपालविरुद्ध कतार (राति ८:४५ बजे)
बुधबार (असोज २९): नेपालविरुद्ध ओमान
शुक्रबार (असोज ३१): नेपालविरुद्ध सामाओ

सुपर सिक्समा सहभागी ६ टोली (नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओ) मध्ये शीर्ष तीनमा रहने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकपमा सिधा स्थान बनाउनेछन् । नेपालका लागि आजको खेल विश्वकप सपना साकार पार्नका लागि महत्वपूर्ण खुड्किलो साबित हुने अपेक्षा गरिएको छ ।

धेरै पढिएको