२७ आश्विन २०८२, सोमबार
Follow Us

बन्धक रिहाइका लागि इजरायल जाँदै राष्ट्रपति ट्रम्प

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०८२, सोमबार ०४:५८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज इजरायल प्रस्थान गर्दैछन् । हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइ र गाजा युद्धविराम सम्झौताको औपचारिक कार्यान्वयन समारोहमा सहभागी हुन उहाँ इजरायल जान लागेका हुन् ।

गाजाबाट बन्धकहरूलाई मुक्त गर्ने अन्तिम समयसीमा आज स्थानीय समय अनुसार दिउँसो १२ बजे तोकिएको छ । इजरायल प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ‘युद्ध समाप्त भएको’ घोषणा गरे । उनले युद्धविराम कायम रहने र गाजाका लागि ‘बोर्ड अफ पिस’ नामक नयाँ निकाय छिट्टै गठन गरिने जानकारी दिए । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र युद्धविराममा मध्यस्थताको भूमिका खेलेको कतारको खुलेर प्रशंसा गरेका छन् ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी भागमा गरेको आक्रमणपछि इजरायल र हमासबीचको युद्ध सुरु भएको थियो । यो युद्धले गाजा क्षेत्रमा व्यापक विनाश निम्त्याएको छ ।

ट्रम्प आज इजरायल पुगेर त्यहाँको संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । यसपछि उहाँले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसीसँगै शर्म अल-शेखमा आयोजना हुने शिखर सम्मेलनको नेतृत्व गर्नेछन् । इजिप्टको विदेश मन्त्रालयका अनुसार, ‘गाजा युद्ध अन्त्य गर्ने कागजात’ मा उक्त सम्मेलनमा हस्ताक्षर गरिनेछ । यस महत्वपूर्ण समारोहमा बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास लगायत २० भन्दा बढी देशका नेताहरू सहभागी हुनेछन्

युद्धविराम कायम रहनेछ : ट्रम्प
ट्रम्पले भने, ‘युद्धविराम कायम रहनेछ । म युद्ध समाधान गर्न जान्दछु र शान्ति स्थापना गर्न पनि सक्षम छु ।’ उनले इजरायली आक्रमणबाट ध्वस्त भएको गाजा क्षेत्र छिट्टै सामान्य अवस्थामा फर्कने विश्वास व्यक्त गरे । गाजाको हेरचाहका लागि ‘बोर्ड अफ पिस’ नामक निकाय छिट्टै गठन गरिने उनले बताए ।

ट्रम्पको पहलमा गत शुक्रबार युद्धविराम सम्झौता भएपछि शनिबार तेल अविवमा सयौं इजरायलीहरूले अमेरिकाप्रति कृतज्ञता व्यक्त गर्दै प्रदर्शन गरेका थिए । यद्यपि, शान्ति योजनाका आगामी चरणहरूमा सहमति जुटाउन कठिन हुन सक्ने विश्लेषण गरिएको छ । विशेष गरी गाजाको प्रशासन, इजरायली सेना फिर्ता लैजाने सीमा र हमासको निशस्त्रीकरणका विषयमा सहमति जुटाउन चुनौतीहरू आउन सक्ने बीबीसीले जनाएको छ ।

धेरै पढिएको