काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका युवाहरूलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले संविधानअनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिएपनि सडक प्रदर्शनमा उत्रन सचेत गराएका हुन् ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले जायज माग राखेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिने भएकाले सरकारले अनुमति नदिएपनि केही फरक नपर्ने जिकिर गरे ।
अध्यक्ष ओलीले प्रदर्शनका लागि सरकारलाई जानकारी दिन युवाहरूले सक्ने भएपनि स्वीकृति नभएपनि नडराई प्रदर्शनमा उत्रनुपर्ने बताए । उनले संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न दिएकाले त्यसमा रोक लगाउने अधिकार कसैलाई पनि नभएको बताए ।
अध्यक्ष ओलीले भने, ‘युवाहरूले सरकारलाई यो कुरा भन्न लजाउनु पनि पर्दैन, डराउनुपनि पर्दैन । धक मान्नु पनि पर्दैन खुलेर भन्नुस्–शान्तिपूर्ण प्रदर्शन हाम्रो अधिकार हो । हामी नाजायज विरोध गर्दैनौं । जायज विरोध हाम्रो अधिकार हो भन्नुस् । र प्रदर्शनमा जानकारी दिनुहोस् । प्रशासनलाई जानकारी दिनुहोस् । हामीलाई लुकेर गर्नु छैन । जानकारी दिनुस् । अहिले पनि हामी यसरी गर्दै छौ स्वीकृति दिनुस् भनेर भन्नुस् । स्वीकृति दिनुहुन्न भने स्वीकृति चाहिँदैन, सडक उत्रनुस् । संविधान भन्दा सिडिओको आदेश माथि हुँदैन । सिडियोको आदेशले संविधान काट्दैन । के भएर बन्नुभयो प्रधानमन्त्री ? संविधानले त दिँदैन । प्रधानमन्त्री पनि असंवैधानिक, सिडियोका कुरा पनि असंवैधानिक । मन्त्रीका कुरा पनि असंवैधानिक । यस्तो हुनु हुँदैन ।’
अध्यक्ष ओलीले सरकारले जेन–जी आन्दोलनका अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउने काम नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।