२७ कार्तिक २०८२, बिहीबार
Follow Us

नयाँ मतदातामा निर्वाचनको उत्साह

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०८२, बिहीबार ०२:०९

बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रहेको पाइएको छ।

गत असोज ९ गतेदेखि नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएकामा हालसम्म ६ सय बढीको नाम दर्ता भइसकेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर रतन चन्दले जानकारी दिए। उनका अनुसार हालसम्म ६ सय १८ जनाको नामावलीमा नाम दर्ता भएको छ । जसमा २०१ महिला र ४१७ पुरुष रहेका छन्।

यस्तै बाहिरी जिल्लाका दुई महिला र सात पुरुषको पनि नाम दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए। यसअघि यहाँ एक लाख ६१ हजार ३१२ जनाको नामावलीमा नाम दर्ता भएको तथ्याङ्क छ । जसमा ८२ हजार १२६ पुरुष, ७९ हजार १८४ महिला र दुई तेस्रो लिङ्गी रहेका छन्।

निर्वाचन आयोगको वेबसाइटमा गएर अनलाइनमार्फत आफ्नो विवरण आफैँ भर्न सक्ने व्यवस्था छ । अनलाइन विवरण भरिसकेपछि आवेदन फारम प्रिन्ट ल्याएर निर्वाचन कार्यालयमा फोटो र फिङ्गर प्रिन्ट लिनुपर्छ । त्यसपछि नामावलीमा नाम दर्ता हुने गर्दछ ।

नामावलीमा यसअघि नाम दर्ता गराउन छुटेका सम्पूर्णलाई नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ । सोह्र वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्दछ । रासस

धेरै पढिएको