काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा गरेका छन् । विशेष महाधिवेशन नहुने उनले पाँचवटा कारण प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको कारण यस्ता छन् ।
१. केन्द्रीय कार्य समितिको बैठकमा आज सम्म पनि विशेष महाधिवेशनको र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिकरुपमा आएको छैन ।
२. पार्टीको विधानको धारा १७(२) मा लेखिएको भए पनि यसको नियमावली र कार्यविधि बनि सकेको छैन ।
३. हस्ताक्षरहरुको सनाखत र प्रमाणीकरण भई सकेको छैन ।
४ . विशेष महाधिवेशनले पार्टी सभापति वा पदाधिकारी वा सदस्यलाई हटाउने व्यवस्था विधानको धारा १७(२) मा कहिकतै लेखिएको छैन ।
५. विधानको धारा १७(२) अनुसारको विशेष महाधिवेशनले पार्टी सभापतिलाई हटाउने व्यवस्था विधान र नियमावलीमा उल्लेख भएको नै छैन ।
विधानको धारा २६ अनुसार केन्द्रीय सभापतिले राजीनामा दिई उहाँको राजीनामा स्वीकृत भइसकेको अवस्थामा कार्यवाहक सभापतिले ६ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ ।
विधानको धारा ४४ अनुसारको अविश्वासको प्रस्ताव पास गरेर मात्र पार्टी सभापति र पदाधिकारीलाई हटाउन सकिन्छ ।
विधानमा व्यवस्था भएको मापदण्ड अनुसार हस्ताक्षरहरुको सनाखत र प्रमाणीकरण पनि भई सकेको छैन । यसको लागि आवश्यक नियमावली र कार्यविधि पनि बनिसकेको छैन । पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा छलफलको लागि औपचारिक प्रस्तावको रुपमा पनि आएको छैन । यस सम्बन्धमा पार्टीको केन्द्रीय कार्य समितिले कुनै निर्णय पनि गरिसकेको छैन ।
साथसाथै, पार्टीले २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरि सकेको छ । पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने सम्पुर्ण तयारीको काम सम्पन्न गर्नु पर्नेछ । पार्टी एकता कायम राख्नु छ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ ।
यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने संभावना कम देखिन्छ । यसर्थ, ढुक्क हुनु होस्, वर्तमान सभापतिज्यू कै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ । पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु र पार्टी एकता कायम राख्नुको लागि पार्टीको विशेष महाधिवेशन एक हुंदैन, दुई हुंदैन र तीन हुंदैन ।