काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ । सामान्यतया यो दिनलाई ‘न्यू इयर’का रूपमा मनाउने पश्चिमा संस्कृतिको प्रभाव बढिरहेका बेला नेपाली युवाहरूले भने आफ्नो मौलिकता झल्काउने फरक शैली रोजेका छन् । ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आज मुलुकभर १३औँ अन्तर्राष्ट्रिय टोपी तथा राष्ट्रिय पोसाक दिवस भव्यताका साथ मनाइएको छ ।
आज विभिन्न युवा सङ्घ-संस्थाहरूको अगुवाइमा राजधानी काठमाडौंसहित देशभरका मुख्य सहरहरूमा हुने कार्यक्रमहरुमा दौरा-सुरुवाल, ढाका टोपी र गुन्यू-चोलीमा सजिएका युवायुवतीहरूको बाक्लो उपस्थिति देखिन्छ । विशेष गरी विगत १३ वर्षदेखि युवा पुस्ताले नै अग्रसरता लिएर मनाउन थालेको यो दिवसले राष्ट्रिय पोसाकको संरक्षण र संवर्द्धनमा नयाँ आयाम थपेको छ ।
विसं २०७० सालदेखि औपचारिक रूपमा सुरु भएको यो अभियानले नेपाली पहिचानका पर्याय मानिने दौरा, सुरुवाल, टोपी र गुन्यू चोलीलाई पुनः स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको अभियन्ताहरूको भनाइ छ । विगतमा राज्यले राष्ट्रिय पोसाकको आधिकारिक मान्यताबाट हटाएपछि युवाहरूले स्वतःस्फूर्त रूपमा यो अभियानको थालनी गरेका थिए ।
आज बिहानैदेखि माइतीघर मण्डलासहित राजधानीका विभिन्न स्थानमा र्याली र कोणसभाहरू आयोजना गरिएका छन् । सडकमा मात्र होइन, सामाजिक सञ्जालका भित्ताहरू पनि आज ‘टोपी दिवस’मय बनेका छन् । देश तथा विदेशमा रहेका नेपालीहरूले आफ्नो मौलिक पोसाकमा सजिएका तस्बिरहरू राखेर भर्चुअल माध्यमबाट पनि दिवसप्रति ऐक्यबद्धता जनाएका छन् ।