लन्डन – बेलायतबाट प्रकाशित हुने अनलाइन पत्रिका ब्रिटिश खबर डटकमले ‘सामुदायिक संवाद’ कार्यक्रम आयोजना गरेको छ।
द उलविच सेन्टरमा कार्यक्रममा बेलायतमा स्थानीय निकायहरुले प्रदान गर्ने सेवा, ब्रिटिश इमिग्रेशन कानूनमा गर्न लागिएको परिवर्तन, गोर्खाहरुको योगदान, बेलायतमा नेपाली विद्यार्थीका समस्या तथा नेपालमा जेन जी आन्दोलन पछिका सम्भावना लगायतका विषयमा प्रस्तुति तथा अन्तरक्रिया गरिएको थियो।
अन्तरक्रियालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले स्थानीय नेपाली समुदायका समस्याहरू उठाउँदा आफ्नो जरा नबिर्सन सुझाव दिए । उनले गोर्खा सैनिकले नेपालको प्रतिष्ठा अभिवृद्धि गरि रहेको बताउंदै ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकका माग हरुको सम्बन्धमा ब्रिटिश सरकारसँग वार्ता जारी रहेको बताए । दूतावासले सामुदायिक संस्थाहरुसँग सहकार्य गर्दै नेपाली विद्यार्थीहरूलाई सहयोग गर्न सक्दो प्रयास गरिरहेको पनि उनले बताए । कार्यवाहक राजदूत दुवाडीले पत्रकारहरूले समुदायमा महत्वपूर्ण योगदान पुर्याइरहेको भन्दै पत्रकारिताका नैतिक मूल्यहरू पालना गर्न सुझाव दिए। “समाजलाई मार्गदर्शन गर्ने, भविष्यउन्मुख दृष्टिकोण प्रस्तुत गर्ने र समाधानको बाटो देखाउने भूमिका पनि पत्रकारिताको हो,” उनले भने।
कार्यक्रमको सभापतित्व गरिरहेका समाजसेवी चिरञ्जीवी ढकालले साथीहरुसंग मिलेर सन् १९९२ मा ‘सगरमाथा टाइम्स’ नामक हस्तलिखित मासिक पत्रिका प्रकाशन गरिएको स्मरण गरे। “पत्रकारहरूले हाम्रो समाज र समुदायलाई निरन्तर योगदान दिइरहेका छन्। त्यसैले पत्रकारिता क्षेत्रलाई पनि समुदायले सहयोग गर्नु पर्छ,” उनले भने। कार्यक्रम संचालन गर्दै ब्रिटिश खबरका सम्पादक एवम् प्रकाशक बिपिन निरौलाले अनलाइन पत्रिका संचालनका समस्याहरुका विषयमा प्रकाश पार्दै सम्पूर्ण समुदायको हितका लागि पत्रकारिता गरीरहेको र सो निरन्तर जारी रहने बताए।
ब्रिटिश सेनाबाट अवकाशप्राप्त लेफ्टिनेन्ट कर्नेल टोल खाम्चाले गोर्खाहरूले विगत २१० वर्षदेखि बेलायती सेनामा सेवा गर्दै आएको स्मरण गर्दै भारतीय गोर्खा, ब्रिटिश गोर्खा र नेपाली गोर्खा सबैले आआफ्नो फरक भूमिकामा योगदान दिइरहेको बताए । ३६ वर्षसम्म बेलायती सेनामा सेवा गरेका खाम्चाले गोर्खाहरूले नेपाल र बेलायतबीचको सम्बन्ध निर्माण र सुदृढीकरणमा अत्यन्त महत्वपूर्ण भूमिका खेलेको जनाए ।
रिटायर्ड कर्नेल खाम्चाले गोर्खा आफैमा एक ब्रान्ड बनिसकेको बताउंदै बेलायती जनताले गोर्खाहरूलाई विशेष सम्मानका साथ हेर्ने गरेको बताए । “यो सम्मान कसैले दिएर पाएको होइन, कमाएर हासिल गरिएको हो । गोर्खाहरु मेहनती, निष्ठावान् र अत्यन्त साहसी हुन्छन्। हाल चार हजार गोर्खा सैनिकहरू ब्रिटिश सेनामा सेवा गरिरहेका छन्। उनीहरू ब्रिटिश सेनाको ‘मुकुटका गहना’ हुन्,” उनले भने। नेपालको विकट पहाडी गाउँमा जन्मिएर ब्रिटिश राजपरिवारको सेवामा समेत संलग्न हुन पाउनु आफ्नोलागि एउटा गौरवको विषय रहेको बताउंदै खाम्चाले भने, “सफलता भनेको के हो—धन कि शक्ति? मेरो विचारमा आफ्नो परिवारसंग खुशी भएर बस्न पाउनु नै साँचो सफलता हो।”
आफ्नो प्रस्तुतिमा रोयल बरो अफ ग्रिनिचका पूर्व मेयर काउन्सिलर जित रानाभाटले काउन्सिलरहरूले आयोजना गर्ने सर्जरीमा सहभागी हुन वा इमेलमार्फत सम्पर्क गर्न सुझाव दिए । “काउन्सिलरहरू नै तपाईंको पहिलो सम्पर्क बिन्दु हुन्। स्थानीय काउन्सिलरहरूले सम्बन्धित विभागसँग समन्वय गरी व्यवहारिक रूपमा एक साताभित्र प्रतिक्रिया दिलाउने प्रयास गर्छन्। स्थानीय सरकारका लागि प्रत्येक बासिन्दाको आवाज अत्यन्त महत्वपूर्ण हुन्छ। कुनै पनि चिन्ता वा गुनासो भए आफ्ना स्थानीय काउन्सिलर वा काउन्सिलसँग सम्पर्क गर्नुस्,” उनले भने।
यसैगरी रोयल बरो अफ ग्रिनिचका काउन्सिल लिडर काउन्सिलर एन्थोनी ओकेरेकेले नेपाली समुदाय एक सफल र सबल समुदायको रूपमा रहेको बताए। उनले नेपाली समुदायको सहनशीलता र शक्तिको प्रशंसा गर्दै समुदायलाई अझ बलियो कसरी बनाउन सकिन्छ भनेर छलफल गर्न सुझाव दिए। काउन्सिलले अपराध घटाउन, उद्यम विकास गर्न, सरसफाई र विशेष आवश्यकता भएका बालबालिकाका लागि उल्लेख्य बजेट छुट्याएको उनले जनाए। “अपराधका साना घटनाहरू धेरैजसो रिपोर्ट हुँदैनन्। यदि हामी सबैले रिपोर्ट गर्यौँ भने ती विषयले ध्यान र प्राथमिकता पाउनेछन्,” उनले भने।
आप्रवासन सम्बन्धी कानुनमा संशोधन
आप्रवासन सम्बन्धी कानुनमा संशोधनका लागि गरिएका नयाँ प्रस्तावहरुबारे प्रस्तुति दिंदै सोलिसिटर दीपक भट्टराईले ब्रिटिश सरकारले ‘अर्न्ड सेटलमेन्ट’ नामक नयाँ अवधारणा सुरु गरेको बताए। उनले अब सेटलमेन्ट (आइएलआर) प्राप्त गर्न विभिन्न शर्त पुरा गर्नु पर्ने बताउंदै यी प्रस्तावहरु अहिले परामर्श (कन्सल्टेशन) कै चरणमा रहेको बताए । उनले नयाँ आइएलआर प्रणालीका चार मुख्य आधारस्तम्भहरु चरित्र, एकीकरण/समावेशीकरण, योगदान र बसोबास अवधि रहेको बताए। उनले अब अंग्रेजी भाषा स्तर बी २ ( आइइएलटीएस ५.५ वा सो बराबर) गर्न प्रस्ताव गरिएको पनि जनाए। उनले भूतपूर्व गोर्खा सैनिक, तिनका परिवार र ब्रिटिश न्याशनल ओभरसिज (बीएनओ) लाई अहिलेको प्रस्तावले कुनै असर नगर्ने पनि बताए।
बेलायतका विभिन्न विश्वविद्यालयहरुमा रहेका नेपाली सोसाइटीहरुको छाता संस्था, मर्जिंग नेपसक्स, का अध्यक्ष पवन कडेलले उच्च शिक्षाका लागि बेलायत आउने नेपाली विद्यार्थीहरूको संख्या सन् २००० मा करिब १,२७० रहेकोमा सन् २०२४ मा त्यो संख्या बढेर झन्डै १३,००० पुगेको बताए । उनले नेपाली विद्यार्थीहरुले भाडा र घरधनीसम्बन्धी समस्या, नेसनल इन्स्योरेन्स, न्यूनतम ज्याला, शैक्षिक अनियमितता र पोस्ट स्टडी वर्क सम्बन्धी समस्या हरु व्यहोरी रहेको बताए। यस बाहेक कतिपय विद्यार्थीहरुले मानसिक स्वास्थ्य, घरबारविहीन अवस्था, ठगी/मनी लन्डरिङ, तथा मृत्यु जस्ता जटिल समस्याहरू पनि व्यहोरी रहेको उनले बताए। स्पन्सरशिपका सीमित अवसरहरू, बीचमै पढाइ छोड्ने (ड्रप–आउट) र अनिश्चित भविष्य मुख्य चुनौतीको रुपमा रहेको पनि उनले जानकारी दिए । अध्यक्ष कडेलले नेपालको राजनीतिक र आर्थिक अवस्थाले विद्यार्थीहरूलै विदेश जान बाध्य बनाउने ‘पुश फ्याक्टर’को रूपमा काम गरिरहेको बताउंदै विद्यार्थीहरुलाई प्रस्थानपूर्व युकेको अवस्थाबारे अभिमुखीकरण दिइनु पर्ने बताए। उनले शैक्षिक परामर्शदाता, विद्यार्थीहरू र सरकारबीच समन्वय हुनु पर्ने पनि बताए।
यसै गरी लन्डनमा बसोबास गर्ने युवा निश्चल ढकालले तयार गरेको “विश्वव्यापी सन्दर्भमा जेन जी आन्दोलन र त्यसको प्रभाव” बारेको कार्यपत्र पढेर सुनाइएको थियो।
एनआरएनए आईसीसीका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले कार्यक्रमको सफलताको कामना गर्दै शुभकामना पठाएका थिए ।
सोही अवसरमा पांच संस्थाहरुलाई सम्मान गरिएको थियो। ब्रिटेनस्थित नेपाली समुदायको उन्नयनमा पुर्याएको योगदानको कदर गर्दै तमु धिं युके, पासा पुच: गुथी युके, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युके, ब्रिटेन नेपाल लयर्स एसोसियसन र मर्जिंग नेपसक्स युकेलाई सम्मान गरिएको थियो। त्यसैगरी ब्रिटिश खबरलाई स्थापनाकाल देखिनै सहयोग गर्ने संस्था, व्यक्ति र विज्ञापनदाताहरुलाई समेत प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो। आगामी दिनमा पनि समाजमा योगदान दिने संस्था र व्यक्तित्वहरुलाई सम्मान गरिने ब्रिटिश खबरका सम्पादक बिपिन निरौलाले जनाए।


फोटो: दीपक भट्टराई/ लन्डननेपालन्युज