७ माघ २०८२, बुधबार
Follow Us

कांग्रेस पहिलो पार्टी बन्छ : कांग्रेस नेता शंकर तिवारी

नेपालब्रिटेन संवाददाता
७ माघ २०८२, बुधबार १५:११

लण्डन । नेपाली कांग्रेसका नेता शंकर तिवारीले आगामी आम निर्वाचनपछि नेपाली कांग्रेस देशकै सबैभन्दा ठूलो र पहिलो पार्टीका रूपमा स्थापित हुने दाबी गरेका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै नेता तिवारीले नेपाली कांग्रेस नयाँ नेतृत्व, नयाँ संकल्प र जनताको व्यापक समर्थनसहित निर्वाचनमा होमिएको उल्लेख गर्दै “निर्धक्क अगाडि बढ्नुहोस्, फागुन २१ गते नेपाली कांग्रेस पहिलो पार्टी बन्नेछ,” भन्ने विश्वास व्यक्त गरेका छन्।

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर शान्तिपूर्ण, उत्साहपूर्ण र हर्षोल्लासपूर्ण वातावरणमा माघ ६ गते उम्मेदवारहरूको मनोनयन सम्पन्न भएको उल्लेख गर्दै तिवारीले भदौ २३/२४ को ‘जेन्जी उथलपुथल’ पछि हुन लागेको यस निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्। सांसदको उम्मेदवारका रूपमा आफूलाई देख्न चाहने तथा आशीर्वाद दिने सबै शुभेच्छुकप्रति उनले आभार व्यक्त गरेका छन्।

“मैले लिएको सुदूर राजनीतिक लक्ष्यका अगाडि प्रतिनिधिसभा निर्वाचनमा मेरो उम्मेदवारी हुनु वा नहुनु गौण विषय हो,” विज्ञप्तिमा उल्लेख छ, “आम निराशा र अन्योललाई चिर्दै कांग्रेस बदलेर देश बदल्ने महान लक्ष्यमा हामी पुगेको नजिक पुगेका छौँ भन्ने तथ्य सार्वजनिक गर्न पाउँदा म अत्यन्त हर्षित छु।”

नेता तिवारीले भदौ २३ को घटनापछि कांग्रेस रूपान्तरणको अभियान झनै तीव्र बनेको दाबी गर्दै छोटो समयमा आश्चर्यजनक र ऐतिहासिक ढंगले नेतृत्व परिवर्तन सम्भव भएको बताए। पुस २७ देखि माघ ६ सम्मका १० दिनलाई नेपाली इतिहासका निर्णायक क्षणका रूपमा उल्लेख गर्दै ती क्षणहरू आफ्नो जीवनका सबैभन्दा गौरवपूर्ण समय भएको उनले बताएका छन्।

नेपाली कांग्रेसको विशेष अधिवेशन सम्पन्न भई नेतृत्व परिवर्तन हुनु सामान्य घटना नभएको उल्लेख गर्दै तिवारीले आदरणीय सभापति गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ जोश, जाँगर र उमङ्गका साथ आम निर्वाचनमा होमिएको बताएका छन्। “कांग्रेस बदलिएर देश बदल्ने महाअभियानमा अझ ठूलो साथ र समर्थन आवश्यक छ,” विज्ञप्तिमा भनिएको छ।

जडतामा अल्झिएको कांग्रेस एकैपटक बगेर स्वच्छ, कञ्चन र निर्मल बनेको उल्लेख गर्दै उनले नेपाली राजनीतिमा नयाँ कीर्तिमान लेखिने दाबी गरेका छन्। निर्वाचन कार्यक्रम सुरु भएसँगै नेपाल नवनिर्माणको युग प्रारम्भ भएको र त्यसको पहिलो संकेत आगामी निर्वाचन परिणामले दिने उनको भनाइ छ।

टिकट वितरणका क्रममा देखिएका तिक्तता र मनमुटाव बिर्सेर सर्वव्यापी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले पार्टीको आधिकारिकता विवादका बीच ७२ घण्टाभित्र १६५ निर्वाचन क्षेत्रमा सन्तुलन कायम गर्दै टिकट वितरण गर्नु असामान्य तर ऐतिहासिक कार्य भएको उल्लेख गरेका छन्। टिकट वितरणसँग सम्बन्धित छिटपुट विवाद समाधानको प्रक्रियामा रहेको उनको भनाइ छ।

गणतान्त्रिक संविधान जारी भएपछि पहिलोपटक १६५ वटै निर्वाचन क्षेत्रमा रुख चुनाव चिह्नमा कांग्रेसका उम्मेदवार खडा भएको उल्लेख गर्दै यसले समानुपातिकतर्फ विगतमा खुम्चिँदै गएको कांग्रेसको मत आधारलाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

नवनिर्वाचित नेतृत्वको संयम, धैर्यता र उदारताका कारण २०५१ सालको मध्यावधि जस्तो विग्रहको आशंका टरेको र २०४८ सालकै ऐतिहासिक परिणामतर्फ कांग्रेस उन्मुख भएको तिवारीको दाबी छ। यससँगै नेपाली राजनीतिमा नेपाली कांग्रेसको सर्वोपरिता पुनः स्थापित हुने आधार तय भएको उनले बताएका छन्।

अन्त्यमा, नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई पार्टी पंक्तिका सबै नेता–कार्यकर्ताले एकताबद्ध भई निर्वाचन अभियानमा होमिन, प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा र समानुपातिकतर्फ ११० सिटमा अत्यधिक मतका साथ विजयी गराउन अपिल गरेका छन्।

“आदरणीय नेता गगन थापाको नेतृत्वमा फागुन २१ गते नेपाली कांग्रेस राष्ट्रिय शक्तिको हैसियतमा गौरवमय ऐतिहासिक परम्परा कायम गर्दै संसद्को पहिलो शक्ति भएर उदाउनेछ,” विज्ञप्तिमा उल्लेख छ।

धेरै पढिएको