काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्वतारोहण तथा ट्रेकिङका लागि नेपाल आएका विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यू) मार्फत ठगी गर्ने गिरोहलाई सार्वजनिक गरेको छ ।
आईतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले साढे दुई महिनाको सघन अनुसन्धानपछि तीनवटा कम्पनीसँग सम्बन्धित ६ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेहरूमा नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे तथा सञ्चालक एवं प्रबन्धक सुभाष केसी रहेका छन् ।
अनुसन्धानबाट उच्च हिमाली क्षेत्रमा सामान्य स्वास्थ्य समस्या जस्तै टाउको दुखाइ वा थकानलाई ‘एक्युट माउन्टेन सिकनेस’ भनेर झूटो प्रचार गरी हेलिकप्टरमार्फत फर्जी उद्धार गराउने, नक्कली उपचार बिल तथा कागजात तयार पार्ने र अन्तर्राष्ट्रिय बिमा कम्पनीबाट करोडौं रुपैयाँ ठगी गर्ने धन्दा चलिरहेको पुष्टि भएको छ ।
गिरोहले एउटै उडानमा बहुविध बिमा दाबी गर्ने, चार्टर फ्लाइटलाई रेस्क्यूमा रूपान्तरण गर्ने, प्राइभेट अस्पतालसँग मिलेर फर्जी बिल बनाउने तथा मिडलम्यानबाट कमिसन लिने गरेको तथ्य फेला परेको छ ।
सीआईबीको अनुसन्धानअनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले कुल १,२४८ जनाको उद्धार गरेको रेकर्डमध्ये १७१ जनाको फेक रेस्क्यू गरेको खुलेको छ । यसबाट कम्पनीले १ करोड ३ लाख १० हजार २७६ अमेरिकी डलर बिमा दाबी गरेको पाइएको छ । त्यसैगरी नेपाल चार्टर सर्भिस प्रालिले कुल ४७१ जनाको उद्धारमध्ये ७५ जनाको फेक रेस्क्यू गरेको छ भने यसबाट ८२ लाख अमेरिकी डलर माग दाबी गरेको अनुसन्धानमा देखिएको छ ।
एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिले कुल ६०१ जनाको उद्धारमध्ये ७१ जनाको शंकास्पद रेस्क्यू गरेको पाइएको छ र यसबाट ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको छ । यी फेक रेस्क्यूबाट कुल ठगीको रकम करिव २ अर्ब ९० करोड नेपाली रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
विदेशी मिडियाले नेपालमा करिब ३५ प्रतिशत रेस्क्यू फेक भएको उल्लेख गरेका थिए भने २०८२ असोजयता थप उजुरीहरू आएका छन् । यसअघि सन् २०१८ मा पनि यस्तै घोटालाको प्रतिवेदन आएको थियो तर पूर्ण कारबाही हुन सकेन ।
डा. केसीले भने “उनीहरूलाई राष्ट्रहित विपरीतको गतिविधिमा संलग्न भएको अभियोगमा मुद्दा चलाइनेछ । यस कार्यमा संलग्न अन्य व्यक्तिहरूको पनि प्रमाण खोजी भइरहेको छ र प्रमाण फेला लागेपछि तत्काल पक्राउ गरी कारबाही अघि बढाइनेछ ।”
सीआईबीले छुट्टै कार्यदल गठन गरी अनुसन्धान गरेको छ भने पर्यटन मन्त्रालयले पनि छानबिन समिति बनाएको थियो । फेक रेस्क्यूसम्बन्धी उजुरीहरू अझै आउने क्रम जारी छ । यस घटनाले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छविमा गम्भीर असर पार्नसक्ने भएकाले प्रहरीले यसलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाइरहेको छ ।