१३ माघ २०८२, मंगलवार
Follow Us

कोशी र मधेशमा तीन भावी प्रधानमन्त्री, कसलाई जिताउलान् जनताले ?

नेपालब्रिटेन संवाददाता
१३ माघ २०८२, मंगलवार ०५:२९

काठमाडौं । मुलुकको आगामी राजनीतिक दिशा र सत्ताको साँचो कुन शक्तिसँग रहने भन्ने अन्तिम फैसला यसपटक कोशी र मधेश प्रदेशले गर्ने देखिएको छ । भावी प्रधानमन्त्रीका तीन दाबेदार यहाँबाट नै मैदानमा उत्रिएपछि विशेष चासोका साथ हेर्न थालिएको हो ।

झन्डै ७१ लाख मतदाताको भूगोल समेट्ने यी दुई प्रदेश आसन्न निर्वाचनका लागि केवल संख्यात्मक रूपमा मात्र होइन, ‘हेभीवेट’ उम्मेदवारहरूको प्रतिष्ठा र भावी प्रधानमन्त्रीको दाबेदारीका कारण पनि मुलुककै नजरमा परेका छन् । कोशीमा दुई र मधेशमा एक गरी तीन जना भावी प्रधानमन्त्रीका दाबेदार चुनावी मैदानमा होमिएपछि यी दुई प्रदेश राजनीतिको ‘इपिसेन्टर’ बनेका हुन् ।

कोशी प्रदेशको सबैभन्दा चर्चित र चासोको केन्द्र बनेको छ- झापा क्षेत्र नम्बर ५ । यहाँ एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहबिच प्रतिष्ठाको रोचक लडाइँ चल्दैछ । ०४८ सालयता एकपटक बाहेक सधैँ विजयी हुँदै आएका ओलीका लागि यसपटक काठमाडौँको पूर्वमेयर बालेनको चुनौती निकै गहकिलो देखिएको छ ।

ओली आफ्नो ‘गढ’ सुरक्षित राख्न विगतभन्दा बढी सक्रिय देखिएका छन् । मनोनयन लगत्तै काठमाडौँ फर्कने गरेका उनी यसपटक भने चार दिन सोही क्षेत्रमा बसेर कार्यकर्तालाई ‘सक्रियता दोब्बर पार्न’ निर्देशन दिएका छन् । उता, बालेनको सचिवालय भने ओलीलाई उनकै क्षेत्रमा पराजित गरेर नयाँ इतिहास रच्ने रणनीतिमा व्यस्त छ । राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलका अनुसार, ‘जेनजी’को विद्रोह र विदेशमा रहेका युवाहरूको प्रभावका कारण यसपटक कसैको पनि गढ सुरक्षित छैन ।

काठमाडौँ-४ को आफ्नो परम्परागत र सुरक्षित क्षेत्र छाडेर कांग्रेस सभापति गगन थापा यसपटक सर्लाही-४ झरेका छन् । कांग्रेसले उनलाई ‘भावी प्रधानमन्त्री’ का रूपमा अघि सारेपछि उनी ‘मधेशलाई बुझ्न र मधेशबाटै देशको विकास सुरु गर्न’ आएको बताउँछन् । तर, थापाको बाटो त्यति सहज भने देखिँदैन । यस क्षेत्रमा तीनपटकका सांसद अमरेशकुमार सिंह रास्वपाबाट उम्मेदवार बनेर थापाका लागि मुख्य चुनौतीका रूपमा उभिएका छन् । कांग्रेसको नयाँ पुस्ताको भविष्य र प्रतिष्ठा गगनको जित-हारमा निर्भर देखिएकाले सर्लाही-४ रणनीतिक लडाइँको मैदान बनेको छ ।

मधेश प्रदेश केवल गगन थापाका कारण मात्र चर्चामा छैन, यहाँ मधेश आन्दोलनका ‘मसिहा’ भनिने उपेन्द्र यादवदेखि डा. सीके राउत, राजेन्द्र महतो र प्रभु साहसम्म चुनावी मैदानमा छन् । त्यसैगरी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधिजस्ता दिग्गजहरूको उपस्थितिले मधेशलाई ‘हाइप्रोफाइल’ चुनावी क्षेत्र बनाएको छ । विश्लेषक राकेश मिश्रका अनुसार मधेशमा कांग्रेस र एमालेका पुराना संगठन एकातिर छन् भने रास्वपा र जनमतजस्ता नयाँ शक्तिहरूको उदयले समीकरण निकै जटिल बनाएको छ ।

सुनसरी-१ मा धरानका निवर्तमान मेयर हर्क साम्पाङको उम्मेदवारीले छुट्टै तरंग पैदा गरेको छ । ‘श्रम संस्कृति पार्टी’ मार्फत प्रधानमन्त्रीको दाबी गर्दै मैदानमा उत्रेका साम्पाङले आफ्नो मौलिक शैलीमा चुनावी प्रचारलाई तीव्रता दिएका छन् । उनको उपस्थितिले परम्परागत दलहरूलाई दबाबमा पारेको छ ।

यसपटकको चुनावमा प्रविधि र युवा मनोविज्ञान (जेनजी आन्दोलन) हाबी देखिएको छ । २३ र २४ भदौको विद्रोहपछि नागरिकहरूले आमूल परिवर्तन खोजिरहेको विश्लेषण गरिँदै छ । कोशी र मधेशका मतदाताले दिने जनादेशले नै नेपालको राजनीतिमा नयाँ पुस्ताको उदय हुन्छ या पुरानाको विरासत कायमै रहन्छ भन्ने कुराको फैसला गर्नेछ । नयाँ मतदाताहरूको उल्लेख्य संख्या र ‘बालेन क्रेज’ले परम्परागत मतलाई कति प्रभावित पार्छ, त्यो २१ फागुनको परिणामले नै बताउनेछ ।

धेरै पढिएको