काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको निर्णय विपरीत उम्मेदवारी दर्ता गराएका व्यक्तिहरूलाई आफ्नो उम्मेदवारी निष्क्रिय गरी आधिकारिक उम्मेदवारको पक्षमा उभिन निर्देशन दिएको छ । पार्टी नेतृत्वले संगठनात्मक एकता र निर्वाचन व्यवस्थापनलाई प्राथमिकतामा राख्दै उक्त निर्णय सार्वजनिक गरेको हो ।
मंगलबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत काँग्रेसले केही निर्वाचन क्षेत्रमा आन्तरिक असहमतिको कारण अलग्गै उम्मेदवारी परेको अवस्था स्वीकार गर्दै त्यस्ता उम्मेदवारलाई पार्टी निर्णयको सम्मान गर्न आह्वान गरेको जनाएको छ ।
काँग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समिति संयोजक देवराज घिमिरेले सीमित समयका कारण उम्मेदवार छनोट प्रक्रियामा केही कमजोरी देखिएको हुनसक्ने स्वीकार गरे । ती कमजोरीलाई आत्मसात् गर्दै अब सबैले पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्नुपर्ने निर्देशन दिइएको उनको भनाइ छ ।
उनका अनुसार पार्टीभित्र देखिएका कमजोरीहरू आगामी दिनमा सुधार गरिनेछ । निर्वाचनलाई प्रभावकारी बनाउन सातै प्रदेशदेखि वडा तहसम्म निर्वाचन परिचालन समिति गठन गरी प्रचार–प्रसार अघि बढाउन आवश्यक निर्देशन दिइसकिएको पनि उनले जानकारी दिए ।
प्रवक्ता घिमिरेले काँग्रेस नेतृत्वमा आगामी पाँच वर्षभित्र मुलुकको विकास र निर्माणका स्पष्ट लक्ष्यसहित घोषणापत्र तयार भइरहेको र केही दिनमै सार्वजनिक गरिने बताए । साथै, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमध्ये १०६ क्षेत्रमा नयाँ उम्मेदवारलाई प्रतिस्पर्धामा उतारिएको उनले उल्लेख गरे ।
निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्ने प्रतिबद्धता जनाउँदै पार्टीले आन्तरिक अनुशासनलाई मजबुत बनाउन छुट्टै आन्तरिक आचारसंहिता समेत लागू गरेको काँग्रेसले जनाएको छ ।