२१ माघ २०८२, बुधबार
Follow Us

सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्: प्रचण्ड

नेपालब्रिटेन संवाददाता
२१ माघ २०८२, बुधबार १३:१२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरे । सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै संयोजक दाहालले सामाजिक सञ्जालमा हाहा र हुहु गरेर केही पनि नहुने टिप्पणी गरे ।

उनले राष्ट्रलाई एकताबद्ध गर्दै भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा उभिने तथा आर्थिक विकासलाई अगाडि बढाउन सक्ने नेता र पार्टीलाई नेपाली जनताले चिनिसकेको बताए । उनले फागुन २१ मै निर्वाचन हुने भन्दै कसैलाई पनि शंका नगर्न आग्रह पनि गरे ।

‘स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचन हुँदा हाम्रो नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक नम्बर पार्टी बन्ने सम्भावना छ । सोसियल मिडियामा हाहा र हुहु गरेर केही हुनेवाला छैन । यो राष्ट्रले बुझिसकेको छ राष्ट्रलाई एकतावद्ध गर्नसक्ने, सबैलाई जोड्न सक्ने अनि भ्रष्टाचारका विरुद्ध र सामाजिक न्यायका पक्षमा, सुशासन र आर्थिक विकासका पक्षमा अगाडि लान सक्ने तथा विश्वभरीका हाम्रा मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई सन्तुलित राख्न सक्ने नेता र पार्टी को हो भने नेपाली जनताले बुझिसकेको छ । त्यसकारण यो पटक सही किसिमले निर्वाचन हुँदा हामी यो पटक सही पोजिसनमा आउँछौँ । अझैपनि कतिपय मान्छेहरुले निर्वाचन हुन्छ कि हुँदैन भनेर भन्ने गर्नुभएको छ । दोस्रो संविधान सभाको निर्वाचनको बेलमा पनि यस्तै अवस्था थियो । हाम्रो शंकालु मानसिकता र कन्फ्युजन वातावरणमा छन् । म तपाईलाई भन्न चाहन्छु । चुनाव हुन्छ नै । २१ फागुनमै हुन्छ । म सरकारलाई पनि के सुझाव राख्न चाहान्छु भने दुई चरण भनेर नगरियोस् चुनाव एकै चरणमा होस् । चुनाव निष्पक्ष रुपमा हुने वातावरणको ग्यारेन्टी गरियोस् ।’

उनले निर्वाचन देशभर एकै चरणमा गर्न सरकारलाई आग्रह पनि गरे । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने ग्यारेन्टी सरकारले दिनुपर्ने उनको भनाइ छ ।

धेरै पढिएको