१२ भाद्र २०८२, बिहीबार
Follow Us

साब्लाबुङको हङकङमा लोकार्पण

नेपालब्रिटेन डट कम्
२८ असार २०७४, बुधबार ०७:०८

साब्लाबुङ प्रकाशनल हङकङबाट प्रकाशित साहित्यिक पत्रिका ‘साब्लाबुङ’ (शब्दपुष्प) को ७ औँ अङ्क लोकार्पण तथा पुस्तकालय अभियान घोषणासभा कार्यक्रम हङकङमा हालै सम्पन्न भएको छ ।
प्रकाशनका प्रमुख राजकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हेमकुमार लावतीले सो पत्रिकाको लोकार्पण गरे । साब्लाबुङका उपसम्पादक डिबी पालुङ्वाले सञ्चालन गरेको सो कार्यक्रममा यसै पत्रिकाका प्रबन्ध व्यवस्थापक नरेन्द्र गुरुङले उपस्थित सबैलाई स्वागत गरे । कार्यक्रममा हङकङस्थित नेपाली समाजका नेतृत्वदायी व्यक्तित्व र साहित्यकार तथा साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
’पुस्तकालय अभियान— २०१७‘ समन्वय समितिका सदस्य हर्क रानाले सो घोषणापत्र प्रस्तुत गरे । घोषणापत्रमा भनिएको छ, केही दशकअगाडि मात्र शिक्षामा प्रवेश गरेको हाम्रो जस्तो देशमा औपचारिक र अनौपचारिक ज्ञान प्राप्त गर्न पुस्तकालयको महत्व अत्यन्त धेरै छ । एकातिर देशका धेरै शैक्षिक संस्थाहरु पुस्तकालयविहीन भएकाले गुणस्तरीय शिक्षाको विकास हुन सकेको छैन भने गाउँ र शहरहरु पुस्तकालयविहीन भएकाले चेतनशील समाजको निर्माण हुनसमेत सकेको छैन । वास्तवमा देशको चौतर्फी विकास र समोन्नतिका लागि नागरिकहरु बौद्धिक र चेतनशील हुनु जरुरी छ । बौद्धिक र चेतनशील नागरिक निर्माण अनि देशको चौतर्फी विकासका लागि पुस्तकालयको महत्वपूर्ण भूमिका भएकाले एक व्यक्ति एक पुस्तकअन्तर्गत १. घरमा पुस्तकालय २. शैक्षिक संस्थामा पुस्तकालय ३. गाउँटोलमा पुस्तकालयका साथै निशुल्क ई–पुस्तकालयको स्थापना गर्न साब्लाबुङ प्रकाशन हङकङबाट प्रस्ताव राखिएको हो । सामाजिक अभियानको रुपमा अगाडि प्रस्ताव गरिएको यस अभियानले मूल रुपमा पिछडिएको दुर्गम ग्रामीण भेकका शैक्षिक संस्थाहरुमा पुस्तकालय स्थापनालाई लक्षित गरेको छ ।
शैक्षिक संस्थाहरुमा पुस्तकालय स्थापना, गाउँ र शहरका टोलटोलमा पुस्तकालय स्थापना, घरघरमा पुस्तकालय स्थापना, ग्रामीण भेकका शैक्षिक संस्थाहरुमा विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई उपयोगी पुस्तकालयको व्यवस्थापनमा विशेष प्राथमिकता, नेपाल सरकारसँग वडादेखि जिल्लास्तरीय तहका पुस्तकालय स्थापनाका लागि पहल, राष्ट्रिय अन्तर्राष्ट्रिय सरकारी एवम् गैरसरकारी संस्थाहरुसँग समन्वय गरी पुस्तकालय स्थापना, पुस्तकालय महत्वका विषयमा गोष्ठी सेमिनरहरुको आयोजना, गुणस्तरीय शिक्षाका साथ भाषा, साहित्य, कला र सङ्गीतको विकासजस्ता महत्वपूर्ण उद्देश्यहरु रहेका यस अभियानले विभिन्न व्यक्ति, सरकारी, गैर सरकारी संस्था र विदेशबाट समेत सहयोग जुटाउने छ । ती सहयोददाता व्यक्ति वा संस्थाहरुको नाम र ठेगाना पुस्तकालय र ई–पुस्तकालयमा व्यस्थित तरिकाले अङ्कित पनि गर्ने छ ।
साहित्यकार बज्रकुमार थुलुङले विभिन्न तहका साहित्यकारदेखि डायस्पोरिक कविलेखकहरुका लेखरचनाहरु समेटिएको १७६ पेजको साब्लाबुङको समीक्षा गर्दै यो अङ्क विशेष रहेको कुरा बताएका थिए । सोही कार्यक्रममा प्रकाशन संस्था साब्लाबुङले आफ्ना आजीवन सदस्यहरुलाई मायाको चिनोस्वरुप करुवा प्रदान गर्नुका साथै हङकङमा नेपाली पुस्तकालय सञ्चालक तथा सहयोगीहरुलाई कदरपत्र प्रदान ग¥यो ।
कार्यक्रमको समापन गर्दै साब्लाबुङका सम्पादक तथा प्रकाशक राजकुमार राईले घरघरमा रक्सी सजाउने ठाउँमा किताब सजाउनुपर्छ भन्दै किताब नभएका शैक्षिक संस्थाहरुलाई पुस्तकालय राख्न लगाउनुपर्ने कुरामा जोड दिए । उनले विविधताले धनी देश नेपालको शैक्षिक स्तर उकास्नका लागि हर विधाका पुस्तकहरु सर्वसुलभ ढङ्गले पढ्न पाउने पुस्तकालयको व्यवस्था गर्न अति जरुरी भएको कुरा राखे । साहित्य र कलाका मात्र नभएर विज्ञान, कृषि, पशुपालन, जडिबुटीजस्ता विषयका पुस्तकहरुले ज्ञानलाई फराकिलो र व्यावहारिक बनाउने कुरा राखे । पुस्तकालय अभियानले यिनै कुरालाई ध्यानमा राखेर हाल नेपालको पूर्वदेखि पश्चिमसम्मका २० वटा जिल्लाका दुर्गम स्थानहरुबाट पुस्तकालय स्थापना गर्ने कुरा पनि बताए ।

धेरै पढिएको