काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकलाई अहिले सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् । शुक्रबार कास्की काँग्रेसको सभालाई सम्बोधन गर्दै सभापति थापाले अहिले देशमा चरम निराशा र अविश्वासको स्थिति रहेकाले यस्तो बेला ‘सम्हाल्ने शक्ति’ चाहिने टिप्पणी गरेका हुन् ।
‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले । आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ । त्यो तागत हामीले राख्नुपर्ने छ,’ सभापति थापाले भने, ‘उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई ।’
त्यस्तो सम्हाल्ने शक्ति काँग्रेस रहेको उनले दाबी गरे । नागरिकमा व्याप्त गहिरो असन्तुष्टिको जवाफ सुधारबाटै दिन सकिने उनले बताए ।
समाजमा भित्रभित्र आगो बलिरहेको बताउँदै उनले यो बेला काँग्रेसले नै सम्हाल्नुपर्ने उनले बताए । अहिले निराशाको मुख्य जड भ्रष्टाचार नै रहेको सभापति थापाले दाबी गरे ।