काठमाडौँ। नेपाल-भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ ।
मोरङको बिराटचोकमा शुक्रवार भएको नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला उनी बेहोस भएर ढलेका थिए । उनको उपचारका क्रममा विराट मेडिकल कलेजमा शुक्रबार राति निधन भएको हो ।
अस्पतालका अनुसार उच्च रक्तचापका कारण उनी अचानक ढलेका थिए । बेहोस भएर ढल्ने क्रममा उनको जिब्रो समेत काटिएको र स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । हाल उनको शव अस्पतालको आकस्मिक कक्षमा राखिएको छ ।