काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले नेपाली फुटबलको विकासका लागि ‘विकेन्द्रीकरण’ अनिवार्य रहेको बताएका छन् । राजधानीमा जारी राष्ट्रिय लिगमा दर्शकको न्यून उपस्थितिप्रति चिन्ता व्यक्त गर्दै उनले खेलको मेरुदण्ड मानिने लिग संरचनालाई मोफसलसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले काठमाडौँको रंगशाला रित्तो देखिनुले फुटबल प्रेमीहरूमा निराशा छाएको उल्लेख गरे । ‘नेपालको लोकप्रिय खेलमा दर्शक नहुँदा दुःख लाग्छ,’ उनले भनेका छन्, ‘काठमाडौँमा २-३ सय दर्शक पनि नदेखिनुले धेरैलाई फुटबल सकिएको भान भएको छ, तर वास्तविकता मोफसलमा अर्कै छ ।’
उनका अनुसार मोफसलमा आयोजना हुने गोल्डकपहरुमा फुटबलको छुट्टै क्रेज र उत्साह छ। त्यहाँ दैनिक हजारौँ दर्शक मैदान पुग्ने गरेको र फाइनलमा त टिकट पाउनै मुस्किल हुने अवस्था रहेको शाहले चित्रण गरेका छन् ।
नेपाली फुटबलका अधिकांश खेलाडीहरू मोफसलले उत्पादन गर्ने भए तापनि लिग संरचना काठमाडौँमै खुम्चिएकोमा उनले प्रश्न उठाएका छन् । ‘देशको मेरुदण्ड मानिने लिगमा मोफसलका क्लबहरूको उपस्थिति निकै कम छ,’ शाह लेख्छन्, ‘केन्द्रीकृत संरचनाका कारण बाहिरका क्लबहरूलाई टिकिरहन गाह्रो भएको छ। अब फुटबललाई काठमाडौँका केही क्लबहरूमा मात्र सीमित राख्नु हुँदैन ।’
फुटबलमा व्यावसायिकता भित्र्याउन र खेलाडीहरूलाई विदेश पलायन हुनबाट रोक्न नयाँ रणनीतिको आवश्यकता रहेको उनको तर्क छ । ‘फुटबलकै कारण कुनै खेलाडीले देश छाड्नु नपरोस्,’ उनले अगाडि भनेका छन्, ‘पूर्वको झापा-११ खेल्दा पश्चिमको धनगढी रंगशाला भरियोस् र मच्छिन्द्र वा थ्रीस्टार जस्ता क्लबहरूले देशभर पुगेर खेल्ने वातावरण बनोस् ।’