२६ माघ २०८२, सोमबार
Follow Us

सबैलाई अनलाइनमार्फत मतदानको व्यवस्था गर्न एनआरएनए यूकेको माग

नेपालब्रिटेन संवाददाता
२५ माघ २०८२, आईतवार २२:१६

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले एनआरएनएको निर्वाचन प्रणालीलाई समावेशी बनाउँदै सबै सदस्यले अनलाइनमार्फत मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

आइतबार गैरआवासीय नेपाली संघका अध्यक्ष पदका प्रत्यासी डा. हेम राज शर्माको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष पुडासैनीले एनआरएनएभित्र मौलाउँदै गएको पदको अस्वस्थ बाँडफाँड र गुटगत राजनीतिको अन्त्य नभएसम्म संस्थाको साख पुनःस्थापना हुन नसक्ने बताए।

उनले संस्थालाई केही सीमित व्यक्तिको स्वार्थ पूरा गर्ने ‘बिजनेस क्लब’ वा राजनीतिक दलको भ्रातृ संगठनजस्तो बनाउन खोजिए त्यसले एनआरएनएको अस्तित्वमै संकट निम्त्याउने चेतावनी दिए।

विगतका निर्वाचन प्रक्रियामा भएका गतिविधिले आम प्रवासी नेपाली समुदायमा नकारात्मक सन्देश गएको उल्लेख गर्दै पुडासैनीले अब नेतृत्व चयन प्रक्रिया कस्तो हुने र त्यसले सदस्यहरूको एजेन्डालाई कसरी सम्बोधन गर्छ भन्ने विषयमा गम्भीर आत्ममूल्यांकन आवश्यक भएको बताए।

विशेष गरी वर्तमान विधानमा रहेका कमजोरी र चलखेलका सम्भावनाहरू तत्काल संशोधन गर्नुपर्नेमा जोड दिँदै उनले ‘एक सदस्य, एक भोट’ को अवधारणा अघि सारे। सीमित प्रतिनिधिलाई मात्र भौतिक रूपमा उपस्थित गराएर अधिवेशन गर्ने र गुट वा स्वार्थ समूहको आधारमा पद हत्याउने प्रवृत्तिका कारण एनआरएनएको साख दिनप्रतिदिन खस्कँदै गएको उनको भनाइ थियो।

अब प्रविधिको अधिकतम प्रयोग गर्दै विश्वभरका सबै दर्ता भएका सदस्यले अनलाइनमार्फत प्रत्यक्ष रूपमा आफ्नो नेतृत्व चयन गर्न पाउने प्रणाली विकास गर्न डा. शर्माको चुनावी अभियानले महत्वपूर्ण भूमिका खेल्नुपर्ने पुडासैनीले सुझाव दिए।

“जबसम्म आम सदस्यहरू सशक्त हुँदैनन् र नेतृत्व चयन गर्ने अधिकार उनीहरूकै हातमा हुँदैन, तबसम्म संस्थाले वास्तविक जनमतको प्रतिनिधित्व गर्न सक्दैन,” उनले भने।

प्रवासमा रहेका नेपालीहरूको भौगोलिक र जनसांख्यिक विविध समस्यालाई सम्बोधन गर्न एनआरएनएमा संरचनात्मक सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले क्षेत्रीय समन्वय समिति (आरसीसी) हरूलाई थप अधिकारसम्पन्न र कार्यकारी बनाइनुपर्ने प्रस्ताव राखे।

मध्यपूर्वका श्रमिक नेपालीका समस्या, युरोप र अमेरिकामा बसोबास गर्ने नेपालीका फरक चुनौती तथा एसिया–प्यासिफिक क्षेत्रका मुद्दाहरू त्यहीँका स्थानीय संयन्त्रमार्फत समाधान गर्ने गरी एनआरएनए अगाडि बढ्नुपर्ने उनको तर्क थियो। संस्थालाई केवल केन्द्रमुखी नराखी ‘ग्रासरुट’ तहसम्म पु¥याउनुपर्ने र हरेक नेपालीले “मेरो अभिभावक संस्था यहाँ छ” भन्ने अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

भाषा, संस्कृति र नेपाली पहिचान जोगाउँदै विदेशमा रहेका नेपालीलाई एउटै सूत्रमा बाँध्ने अभियानको नेतृत्व डा. शर्माले लिन सक्ने विश्वास पुडासैनीले व्यक्त गरे।

नयाँ पुस्ताको बढ्दो संलग्नतासँगै एनआरएनएप्रतिको अपेक्षा र प्रश्नहरू पनि बढिरहेको उल्लेख गर्दै अबको नेतृत्व आर्थिक रूपमा अनुशासित, पारदर्शी र जवाफदेही हुनुपर्ने उनले स्पष्ट पारे। गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, विदेशस्थित नेपालीको सम्पत्ति सुरक्षा र लगानीमैत्री वातावरण जस्ता गम्भीर विषयहरू केवल भाषण र भेटघाटमा सीमित हुन नहुने उनको भनाइ थियो।

डा. शर्माको संस्थापक कालदेखिको अनुभव, नीति निर्माणमा उनको दख्खल र निरन्तर सांगठनिक सक्रियताले एनआरएनएलाई एकढिक्का बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै पुडासैनीले नयाँ पुस्तालाई समेट्ने, २४ सै घण्टा सदस्यता खुला रहने आधुनिक एनआरएनए निर्माणका लागि शुभकामना दिए।

एनआरएनएको १२औँ वृहत एकता महाधिवेशन यही मार्च १४ देखि १६ तारिखसम्म काठमाडौंमा आयोजना हुँदैछ।

धेरै पढिएको