काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दिएपछि झापा निर्वाचन क्षेत्र नम्बर ५ को चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो निर्वाचन क्षेत्रमा विरासत जोगाउने दबाबका बीच मतदाताको घरदैलोमा तीव्र रूपमा जुटेका छन् ।
बुधबार गौरीगञ्जका ११ स्थानमा पुगेका ओलीले बिहीबार कमल गाउँपालिकाका विभिन्न आठ स्थानमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दैछन् । एमाले निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार, बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म कमल गाउँपालिकाको सिम्ले, झारबारी, सानो केर्खा, भलायोडाँडा, भुत्लुङ, जीवन चोक, नयाँ बस्ती र रत्नपुर टोलमा चुनाव लक्षित भेटघाट कार्यक्रम तय भएको छ ।
यसपटक अध्यक्ष ओलीले आफ्ना समस्या लिएर टाढा जान नसक्ने बालबालिका, महिला र वृद्धवृद्धालाई विशेष प्राथमिकतामा राखेर घरटोलमै पुग्ने रणनीति बनाएका छन् । मतदाताका गुनासा र सुझाव सुनेर सोही आधारमा आगामी विकास निर्माणका योजना तय गरिने दाहालले जानकारी दिए ।
चार पटक देशको प्रधानमन्त्री बनिसकेका ओलीलाई यसपटक रास्वपाका बालेनको ‘इन्ट्री’ ले चुनौती थपेको छ । कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकै कारण ओली अहिले मतदाताको मन जित्न गाउँटोल र बस्तीबस्तीमा पुगिरहेका छन् ।