१७ फाल्गुन २०८२, आईतवार
Follow Us

मध्यपूर्व तनावले एनआरएनए निर्वाचन प्रभावित नहुने

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०८२, आईतवार ००:४९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमका कारण संघको आसन्न निर्वाचन प्रभावित नहुने बताएका छन्।

आइतबार बिहान आयोजित एनआरएनए संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यपूर्वमा बढ्दो तनावप्रति संघ चिन्तित रहेको उल्लेख गरे। उक्त क्षेत्रमा केही हवाई सेवाहरू अवरुद्ध भए पनि अवस्था केही दिनभित्र सामान्य हुने विश्वास व्यक्त गर्दै उनले निर्वाचन स्थगित हुने आशंका नगर्न आग्रह गरे।

“संघका प्रतिनिधिहरू विश्वका विभिन्न देशबाट आउनुहुन्छ। मध्यपूर्वमा देखिएको समस्याका कारण निर्वाचन नहुने हो कि भन्ने चिन्ता नगर्नुहोस्,” उनले भने। नेपाल आउने प्रतिनिधिहरूलाई आवश्यक परे वैकल्पिक हवाई मार्ग अपनाउन समेत उनले सुझाव दिए।

डा. शर्माले आगामी मार्च १४ देखि १६ सम्म हुने बृहत् महाधिवेशन सफल पार्न सबैलाई सक्रिय सहभागिताका लागि आह्वान गरे।

यसैबीच संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले आइतबार जारी गरेको विज्ञप्तिमा मध्यपूर्वका देशहरूमा उत्पन्न जटिल परिस्थितिमा करिब १९ लाखभन्दा बढी नेपालीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमा संवेदनशील अवस्थालाई ध्यानमा राख्दै इजरायल, इरान लगायत मध्यपूर्वका अन्य देशहरूमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। साथै, सम्बन्धित देशका सरकारी निकाय र नेपाली राजदूतावासहरूले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न आग्रह गरिएको छ।

संघले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, सुरक्षित स्थानमै बस्न, अनावश्यक यात्रा नगर्न तथा स्थानीय अवस्थाबारे निरन्तर जानकारी राख्न समेत सुझाव दिएको छ।

धेरै पढिएको