१७ फाल्गुन २०८२, आईतवार
Follow Us

मध्यपूर्व क्षेत्रमा सतर्कता अपनाउन एनआरएनएको आग्रह

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०८२, शनिबार २३:४६

लण्डन । मध्यपूर्व क्षेत्रमा हाल विकसित भइरहेका घटनाक्रमका कारण इजरायल, इरान, कतार, कुवेत, युएई, बहराइन लगायतका देशहरूमा बसोबास गरिरहेका नेपालीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता बढेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।

संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठ ले आइतवार जारी गरेको विज्ञप्तिमा मध्यपूर्वका देशहरूमा उत्पन्न कठिन परिस्थितिमा करिब १९ लाखभन्दा बढी नेपालीहरूको सुरक्षालाई मुख्य प्राथमिकतामा राखी आवश्यक कदम चाल्न जरुरी रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा संवेदनशील अवस्थालाई ध्यानमा राख्दै इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

संघले सम्बन्धित देशका सरकारी निकाय तथा नेपाली राजदूतावासहरूले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न आग्रह गरेको छ। साथै अत्यावश्यक बाहेक बाहिर ननिस्कन, सुरक्षित स्थानमै बस्न, अनावश्यक यात्रा नगर्न तथा स्थानीय अवस्थाबारे निरन्तर जानकारी राख्न सुझाव दिएको छ।

त्यस्तै, राष्ट्रिय समन्वय परिषद् (NCC), एनआरएनएको सचिवालय, स्थानीय नेपाली समुदाय, नेपाली राजदूतावास तथा सम्बन्धित निकायहरूसँग नियमित सम्पर्कमा रहन र अवस्था सामान्य नभएसम्म इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूमा यात्रा गर्ने योजना स्थगित गर्न पनि अनुरोध गरिएको छ।

विज्ञप्तिमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ। आवश्यकता अनुसार नेपाल सरकारसँग सहकार्य गर्न संघ तत्पर रहेको पनि जनाएको छ।

संघले विश्वभर रहेका नेपालीहरूको सुरक्षा साझा प्राथमिकता भएको उल्लेख गर्दै नेपाली समुदायको सुरक्षाप्रति सदैव प्रतिबद्ध रहेको पुनः विश्वास दिलाएको छ। आवश्यक परेमा समन्वय, सहकार्य तथा सहयोगका लागि सधैं तयार रहने पनि विज्ञप्तिमा उल्लेख छ।

अत्यावश्यक सम्पर्कका लागि:
९८०१८६११०० / ९८०१८६११२३

धेरै पढिएको