काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का सार्वजनिक नतिजाले नेपाली राजनीतिमा मतदाताको मनोविज्ञान बदलिएको संकेत दिएका छन् । सार्वजनिक छवि, प्रशासकीय लोकप्रियता र दलगत हैसियतका आधारमा बलिया मानिएका केही अनुहार मतदाताबाट अपेक्षित समर्थन जुटाउन असफल देखिएका छन् । काठमाडौँ–३ मा कुलमान घिसिङको पराजय र काठमाडौँ–५ तथा मोरङ–४ मा नेपाली कांग्रेसका दुई महामन्त्रीको हारले मतदाताले पुरानो प्रतिष्ठा, पद र लोकप्रियतालाई मात्र होइन, चुनावी विश्वसनीयता र राजनीतिक विकल्पलाई बढी महत्त्व दिएको सन्देश दिएको छ ।
लोकप्रियता मतमा रूपान्तरण गर्न सकेनन् कुलमान
यस चुनावमा सबैभन्दा चासोका साथ हेरिएको परिणाममध्ये एक काठमाडौँ–३ मा देखियो । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ संसदीय राजनीतिको पहिलो औपचारिक यात्रामै रोकिन पुगे ।
रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी हुँदा घिसिङ ११ हजार १७१ मतमा सीमित भए । दुवैबीच ७ हजार ५८६ मतको अन्तर रह्यो ।
घिसिङ लामो समयदेखि लोडसेडिङ अन्त्य, विद्युत् व्यवस्थापन सुधार र कार्यसम्पादनका कारण आमजनतामा लोकप्रिय पात्रका रूपमा स्थापित थिए । त्यही प्रशासकीय सफलताले उनलाई संसदीय राजनीतिमा पनि सहज लाभ दिलाउने अनुमान धेरैले गरेका थिए । व्यवस्थापनमा देखिएको सफलता पनि प्राप्त लोकप्रियताकै जगमा नागरिक सरकारका मन्त्री पनि पाए र त्यसमा पनि निकै महत्वपूर्ण मन्त्रालयहरुको जिम्मेवार सम्हाले तर त्यहाँका कामकारवाहीबाट केही आलोचित पनि बने । यसका बाबजुत पनि उनको छवी कायमै थियो ।
तर काठमाडौँ–३ को परिणामले लोकप्रिय सार्वजनिक छवि र चुनावी मत परिणामबीच स्वतः सम्बन्ध नबन्ने देखाइदियो । ऊर्जा क्षेत्रको सफल व्यवस्थापकका रूपमा बनेको छवि मतपेटिकासम्म उही अनुपातमा पुग्न सकेन । दलगत संरचना, स्थानीय संगठन, चुनावी सञ्जाल, सुसंगत राजनीतिक सन्देश र मतदातासँगको दीर्घ राजनीतिक सम्बन्ध अझै पनि निर्णायक कारक रहने तथ्य यस परिणामले उजागर गरेको छ ।
चुनावअघि घिसिङले वैकल्पिक राजनीतिक शक्ति निर्माणको सन्देश दिएका थिए । रास्वपासँग छोटो समयको राजनीतिक समीकरण बनेर भंग भएको पृष्ठभूमिमा उनी आफ्नै दलमार्फत चुनावी मैदानमा उत्रिएका थिए । तर अन्ततः पराजय उनै दलका उम्मेदवारसँग व्यहोर्नुपर्यो, जससँग केही दिनअघि मात्र एकताको अभ्यास भएको थियो । यसले वैकल्पिक भनिएका शक्तिभित्रको अस्थिरता र विभाजित राजनीतिक सन्देशले मतदातामाझ कस्तो असर पार्छ भन्ने पनि देखाएको छ ।
कालिकोटमा प्रकाण्डको पुनरागमन सफल भएन
कालिकोटको नतिजाले अर्को महत्वपूर्ण राजनीतिक संकेत दिएको छ । विप्लव नेतृत्वको माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ १८ वर्षपछि ब्यालेट राजनीतिमा फर्किए पनि उल्लेख्य समर्थन जुटाउन सकेनन् ।
निर्वाचनअघि आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेका प्रकाण्ड अन्ततः चौथो स्थानमा सीमित भए । उनले ४ हजार ५९९ मत पाउँदा नेकपाका महेन्द्रबहादुर शाही ११ हजार ३३८ मतसहित विजयी बने । एमालेका नगीन्द्रबहादुर शाही ‘नेशनल’ ले १० हजार ३५२ मत र कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३३ मत पाए ।
कालिकोटमा सुरुमा प्रकाण्ड र महेन्द्रबहादुर शाहीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको थियो । माओवादी पृष्ठभूमि, कर्णाली क्षेत्रमा पुरानो प्रभाव र विद्रोही छविका कारण प्रकाण्डले मूल माओवादीको मत आधारमा असर पार्न सक्ने अनुमान गरिएको थियो ।
तर अन्तिम परिणामले त्यो अनुमान पुष्टि गरेन । यस नतिजाले आन्दोलनकालीन प्रतिष्ठा वा भावनात्मक राजनीतिक अपील मात्र पर्याप्त नहुने देखाएको छ । निरन्तर संसदीय अभ्यास, स्थानीय संगठन र चुनावी तयारी अझ निर्णायक बन्ने तथ्य यहाँ देखियो ।
मोरङ–६ मा शेखरमाथि फराकिलो धक्का
यस चुनावको अर्को उल्लेखनीय परिणाम मोरङ–६ मा देखियो । रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी हुँदा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला १२ हजार ८५० मतमा सीमित भए ।
दुवैबीच ४२ हजार ६६३ मतको ठूलो अन्तर रह्यो । एमालेका विनोद ढकालले ८ हजार ३१७ मत पाए ।
२०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका कोइरालाको यसपटकको पराजयले कांग्रेसभित्रका प्रभावशाली नेतासमेत बदलिएको मतदाताको लहरबाट जोगिन नसकेको संकेत दिएको छ ।
यसैबीच, काठमाडौँ–५ मा कांग्रेस महामन्त्री प्रदीप पौडेल र मोरङ–४ मा महामन्त्री गुरुराज घिमिरे दुवै रास्वपाका उम्मेदवारसँग फराकिलो मतान्तरले पराजित भएका छन् ।
काठमाडौँ–५ मा रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी भए । कांग्रेसका प्रदीप पौडेल ९ हजार १५९ मतमा सीमित रहे भने एमालेका ईश्वर पोखरेलले ४ हजार ७०१ मत पाए ।
त्यसैगरी मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी भए । कांग्रेसका महामन्त्री गुरुराज घिमिरे १२ हजार ८१८ मतमा सीमित भए । माओवादीका अमनलाल मोदीले १० हजार ७६२ र एमालेका जीवन घिमिरेले ६ हजार ९३३ मत पाए ।
मतदाताको प्राथमिकता बदलिएको संकेत
यी सबै नतिजालाई समग्रमा हेर्दा नेपाली मतदाताको प्राथमिकतामा उल्लेख्य परिवर्तन देखिन्छ । सार्वजनिक लोकप्रियता भए पनि त्यो स्वतः मतमा रूपान्तरण हुने निश्चित छैन ।
केन्द्रीय पदमा रहे पनि मतदाताले स्वाभाविक रूपमा अनुमोदन गर्छन् भन्ने अवस्था पनि रहेन । चुनाव अब केवल नाम, इतिहास र प्रतिष्ठाको प्रतिस्पर्धा मात्र नभई विश्वास, विकल्प र परिणामको खोजी बनेको संकेत देखिएको छ ।
रास्वपाको पक्षमा देखिएको समर्थनलाई केवल ‘लहर’ भनेर मात्र बुझ्नु पर्याप्त नहुन सक्छ । यसमा परम्परागत दलहरूप्रतिको असन्तुष्टि, नयाँ नेतृत्वप्रतिको आकर्षण, वैकल्पिक राजनीतिक शक्तिको खोजी र प्रत्यक्ष डेलिभरीको अपेक्षा मिसिएको देखिन्छ ।
परम्परागत दलका लागि चेतावनी, नयाँ शक्तिका लागि परीक्षा
यसपटकको निर्वाचन परिणाम परम्परागत राजनीतिक दलहरूका लागि स्पष्ट चेतावनीका रूपमा आएको छ । संगठन, इतिहास र नेतृत्वको तौल हुँदाहुँदै शीर्ष तहका नेता यसरी पराजित हुनु सामान्य राजनीतिक घटना मात्र होइन ।
यसले दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ । मतदाताले अब पुराना नाराभन्दा व्यवहारिक डेलिभरी, विश्वसनीय नेतृत्व र उत्तरदायी राजनीतिक संस्कृतिको अपेक्षा गर्न थालेका छन् ।
उता, रास्वपाजस्ता नयाँ शक्तिका लागि पनि यो परिणाम अवसर मात्र होइन, परीक्षा पनि हो । चुनाव जित्नु र त्यसलाई दीर्घकालीन राजनीतिक विश्वासमा रूपान्तरण गर्नु दुई फरक विषय हुन् ।
तर तत्कालका लागि यस निर्वाचनले एउटा स्पष्ट सन्देश दिएको छ -लोकप्रियता, विरासत र पदभन्दा माथि उठेर मतदाताले अब विकल्प, विश्वसनीयता र परिणाम खोजिरहेका छन्।