२३ फाल्गुन २०८२, शनिबार
Follow Us

जनताको सेवा गर्ने प्रतिबद्धता कहिल्यै हार्दैन: महेश बस्नेत

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०८२, शनिबार ०४:२२

काठमाडौं । भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रहेका महेश बस्नेतले निर्वाचनको नतिजालाई स्वीकार गरेका छन् । अन्तिम परिणाम आफ्नो अनुकूल नभएपछि एमाले सचिव समेत रहेका बस्नेतले सामाजिक सञ्जालमार्फत लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने धारणा सार्वजनिक गरेका हुन् ।

उनले भक्तपुर-२ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिब खत्रीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । राजनीतिमा हार-जितलाई स्वाभाविक प्रक्रियाका रूपमा लिँदै उनले चुनावी परिणामले जनसेवाको यात्रा नरोकिने स्पष्ट पारे ।

निर्वाचनमा आफूलाई मतदान गर्ने मतदाता र अहोरात्र खटिने पार्टीका नेता तथा कार्यकर्ताहरूप्रति कृतज्ञता व्यक्त गर्दै उनले भने, ‘यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ भन्ने विश्वासका साथ त्यसलाई सम्मानपूर्वक स्वीकार गर्दछु ।’

आगामी दिनमा आफू र आफ्नो पार्टी रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बस्नेतले उल्लेख गरे । जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता उनले व्यक्त गरे ।

भक्तपुरको विकास र जनताको हितमा आफ्नो सक्रियता कायम रहने बताउँदै उनले भने, ‘जनताको विश्वास, माया र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो । बाँकी जीवन पनि जनताकै सेवा, हित र समृद्ध भक्तपुर निर्माणमा समर्पित रहनेछ ।’

धेरै पढिएको