२४ बैशाख २०८३, बिहीबार
Follow Us

एनआरएन वुमनहरुले भने: समानताका लागि महिलाको आर्थिक सशक्तिकरण जरुरी

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०८२, आईतवार ०४:२०

गैरआवासीय नेपाली संघ (एनआरएनए)मा आबद्ध महिलाहरुले समानताका लागि महिलाहरुको आर्थिक सशक्तिकरण जरुरी रहेको बताएका छन् ।

एनआरएनएको १२औ अधिवेशन तथा विश्व सम्मेलनको तेस्रो सत्र ‘इन्गेजिङ डायस्पोरा वुमन अन इन्टरप्रेनरसीप फर नेपाल्स इकोनोमिक ग्रोथ’मा बोल्दै सहभागीहरुले आर्थिक सशक्तिकरणले समग्र सशक्तिकरण हुने भन्दै उद्यमशीलतामा जोड्नुपर्ने बताएका हुन् ।

एनआरएनए महिला उपाध्यक्ष जुनु गुरुङले प्रवासमा नेपाली महिलाहरुले दुख गरेर स्थापित भएको भन्दै महिला उद्यमशीलतालाई राज्यले प्राथमिकता दिनुपर्ने बताइन् । अक्षरा स्कुलकी कार्यकारी निर्देशक अन्जु भट्टराईले उद्यमशीलताको लागि महिलालाई थुप्रै अवसर भएको बताइन् । उनले प्रवासमा रहेका बच्चाहरुलाई नेपालमा शिक्षामार्फत कल्चर आदानप्रदान गर्न सकिने पनि बताइन् ।

महिला उद्यमी प्रतिमा पुनले डायस्पोरामा रहेको महिलाले कमाइको सानो रकमलाई नेपालमा बास्केट मनि राख्ने र त्यसलाई उद्यम गर्न चाहने महिलालाई ऋण दिने र उत्पादनलाई खपत गरेर बचेको निर्यात गर्ने योजना बनाए पनि राज्यको नीतिले साथ नदिएको बताइन् । अहिले एनआरएनएबाटै अगुवाइ हुनु सकारात्मक भएको बताइन् । ‘हरेक देशमा युनाइटेड हुनुस् । नेपालको एनआरएनएमा ल्याइदिनुस् । हामी कार्यान्वयन गर्छौ । तर मार्केट छैन । यसमा राज्यले ध्यान दिनुपर्छ,’ उनले भनिन् । आउने सरकारले पनि यो कन्सेप्टमा काम गर्नुपर्ने उनको भनाइ थियो ।

फूलप्रसाद कम्पनीकी सुष्मा शर्माले महिला उद्यमीका रुपमा आत्मनिर्भर हुँदा राष्ट्रकै समृद्धि हुने बताइन् । एउटा घरबाट एउटा उद्यमी जन्मिनुपर्ने र यसले देशको अर्थतन्त्र बलियो हुने बताइन् । उनले अर्थतन्त्रको क्षेत्रमा दूतको काम गरेर उत्पादनलाई ब्राण्डिङ गर्न प्रवासी महिलाको भूमिका हुने बताइन् ।

वरिष्ठ पत्रकार बबिता बस्नेतले डायस्पोरामा भएका महिलाको सशक्तिकरण र त्यसलाई नेपालको महिला सशक्तिकरणमा जोड्नुपर्ने बताइन् । महिला सशक्तिकरणको महत्त्वपूर्ण पक्ष आर्थिक सशक्तिकरण भएको भन्दै उनले प्रवासी नेपाली महिलाले नेपाली महिलालाई उत्पादनसँग जोड्नेगरी लगानी गर्न सक्ने बताइन् । महिला सशक्तिकरणको लागि कमाइ जरुरी रहेको तर भान्सा असमान भइदिँदा चुनौती भोगिरहेको उनको भनाइ थियो । भित्रैबाट महिला सशक्तिकरणका लागि

पौरखी नेपालका संस्थापक अध्यक्ष मन्जु गुरुङले महिला विदेश जाँदा ट्राफिकिङमा पर्छन् भन्ने भाष्यका बीच रोजगारीमा गएर राष्ट्रको निर्माणमा योगदान पुर्याएका छन् भन्ने थुप्रै सफल उद्यमी रहेको बताइन् । यद्यपि पुरुषको तुलनामा महिला बढी जोखिममा रहेको तथ्य प्रस्तुत गरिन् । वैदेशिक रोजगारीबाट फर्केका महिला श्रमिकलाई सशक्तिकरणकै पक्षबाट उद्यमशील विकास तालिम, शिक्षा, सीप दिएर स्वरोजगार बनाउने काम गरेको बताइन् । महिलाहरु आर्थिक सशक्तिकरणले सामाजिक सशक्तिकरण आउने भन्दै आर्थिक सशक्तिकरणले नै सम्पूर्ण सशक्तिकरणमा प्रभाव पार्ने बताइन् ।

एनआरएनए युरोप क्षेत्रीय संयोजक प्रसुना कँडेलले जब महिलाले अवसर पाउँछ, आर्थिक रुपमा सशक्त हुन्छन् त्यसले सम्मान पाउने बताइन् । तर, चुनौती पनि थुप्रै रहेको बताइन् । आर्थिक सशक्तिकरणले नेतृत्व विकास पनि हुने उनले सुनाइन् । युरोपमा महिलाहरुले आइटी, स्वास्थ्य क्षेत्र, उद्यमशीलतामा काम गरिरहेको सुनाइन् । उनकाअनुसार युरोपमा भाषाको समस्या महिलाहरुले झेलिरहेका छन् । नेपाली छात्राहरु युरोपमा नेपालीहरुबाटै यौन शोषणमा परिरहेको पनि सुनाइन् । यद्यपि युरोपमा अवसरहरु, सम्भावनाहरु थुप्रै रहेको भन्दै भाषामा पोख्त हुन जरुरी रहेको बताइन् । डायस्पोरामा रहेका महिलालाई वुमन हेल्प डेस्क जरुरी रहेको पनि बताइन् ।

एनआरएनए महिला संयोजक रश्मी थापाले एनआरएनएभित्रै विभेद रहेको बताइन् । आर्थिक रुपमा सक्षम हुनुपर्छ भनिरहँदा संघभित्रै विश्वास गर्ने अवस्था नरहेको बताइन् । ‘महिलाले पनि बिजनेस गर्छन् र भन्ने छ । महिलाप्रति विश्वास छैन । घरैबाट विभेद छ,’ उनले भनिन् । सामूहिक रुपमा महिलाहरु पैसा उठाएर बिजनेस गर्नुपर्नेमा उनले जोड दिइन् ।

अर्की महिला संयोजक अनुजा प्रधानले विदेशमा बस्ने नेपाली महिलाले लगानी गर्ने हो भने सुरक्षा जरुरी छ । ‘सरकारले कसरी हेर्छ भन्ने कुरा महत्त्वपूर्ण हो,’ उनले भनिन्, ‘वातावरण बनाइदिने राज्यको दायित्व हो ।’ डायस्पोरामा महिला उद्यमी एकदमै कम रहेको भन्दै उनले नेपाल आएर लगानी गर्ने प्रोसेस के हो, त्यसको सहजीकरण गरिदियो भने लगानी गर्न उत्सुक रहेको बताइन् ।

एनआरएनए संस्थापक महिला संयोजक उषा शर्माले आफ्नो कार्यकालको अनुभव सुनाएकी थिइन् । आफ्नो खर्च कटाएर एनआरएनएलाई हुर्काएको उल्लेख गरिन् । प्रत्येक देशमा महिला कोर्डिनेटर बनाइदेउ भनेर पहल गरेको पनि सुनाइन् । उनले प्रवासी महिलाले लगानी गर्दा राष्ट्रको समृद्धिमा टेवा पुग्ने बताइन् । उनले घरेलु उत्पादन किनिदिन प्रवासी महिलालाई अपिल गरिन्, यसले देशको अर्थतन्त्रलाई सबल बनाउने बताइन् ।

एनआरएनएको पहिलो महिला अध्यक्ष रबिना थापाले एनआरएनएभित्र महिलाको सहभागिताको लागि पहल गर्न सुझाइन् । उनले विधान सशोधनका क्रममा चनाखो हुन सुझाइन् । उनले विश्वभर नेपाली रेष्टुरेन्ट पुगिसकेको भन्दै नेपालको सिन्की, अचार निर्यात गर्नुपर्नेमा जोड दिइन् । एनआरएनएको १० अर्बको प्रोजेक्टमा १ अर्ब महिलालाई छुट्याउन उनले माग गरिन् । एनआरएनएमा आरक्षण पदमा मात्र सीमित नगरि मौका दिन अनुरोध गर्दै महिलाले नेतृत्व गरे विवाद नहुने बताइन् । नेपालमा लगानी गर्दा जग्गा शुल्क छुटका साथै अन्य सहुलीयत दिनुपर्ने माग उनले गरिन् ।

लैगिक समानता तथा सशक्तिकरणका लागि लड्दै आएकी अभियन्ता चाँदनी जोशीले महिलाको विकासका लागि सानो सोच्ने गरिएको भन्दै आधा प्रतिनिधित्व जरुरी रहेको बताइन् । लगानी सानो गर्ने अपेक्षा ठूलो गर्ने कुरा नमिलेको भन्दै अनपेड केयर वर्क कसरी घटाउने भन्ने नहेरी महिलाको आर्थिक सशक्तिकरण नहुने बताइन् । महिलाको योगदानको मूल्यांकन नै नभएको भन्दै हाउस होल्ड भए पनि कदर हुनुपर्ने बताइन् । ‘महिलाको लगानीका लागि मार्केट म्यानेजमेन्ट, प्रोटेक्सन हुनुपर्छ । प्रशिक्षण हुनुपर्छ,’ उनले भनिन् । नेपाली महिलाको घरेलु उत्पादनहरु आफू बसेको देशमा निर्यात गरेर लैजान सके आर्थिक सशक्तिकरणमा टेवा पुग्नेमा जोड दिइन् ।

एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले डायस्पोरामा धेरै महिला उद्यमी रहेको भन्दै सम्मान, समान अवसर र सशक्तिकरण बिना दिगो विकास सम्भव नभएको बताइन् । महिला आत्मनिर्भर हुँदा राष्ट्र समृद्ध र सबल हुने उनको भनाइ थियो ।

सत्रको सञ्चालन सचिव टिका गुरुङले गरेकी थिइन् ।

धेरै पढिएको