काठमाडौँ । नेकपा एमालेले कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार बसेको सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्नुपर्ने मागसहित चारवटा निर्णय गरेको हो ।
एमाले सचिव महेश बस्नेतका अनुसार प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने पनि निर्णय गरेको छ।
एमालेले गरेका निर्णयहरू यस्ता छन्-
१. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (सीडीओ)कार्यालयमा विरोधपत्र बुझाउने ।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।
काठमाडौँमा प्रदर्शन
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली पक्राउ विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ । शनिबार बिहान चाबहिल चोकमा एमालेका नेता तथा कार्यकर्ताको विरोध प्रदर्शन गरेका हुन् । अध्यक्ष ओलीलाई प्रहरीले शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो ।