लण्डन । हाम्रो नेपाली समाज वेष्ट मिडल्यान्डले नेपाली नयाँ वर्ष २०८३ लाई एक विशेष कार्यक्रमका साथ स्वागत गरेको छ ।
सोमबार साँझ वुल्भरह्याम्पटनको सितारा कम्युनिटी हलमा विशेष सांगितीक कार्यक्रमकाबीच शुभकामना आदानप्रदान गरि नयाँ वर्षको स्वागत गरिएको हो ।
कार्यक्रममा झण्डै दर्जन नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि साझा नेपाली समाज यूकेका अध्यक्ष नारायण फुयांलले नयाँ वर्षको अवसरमा प्रस्तुत नेपाली नृत्यको खुलेर प्रशंसा गुर्नभयो । नयाँ वर्षको शुभकामना दिंदै उनले हाम्रो नेपाली समाजले नेपाली कला र संस्कृतिको जर्गेनाका लागि खेलेको भुमिकाका लागि धन्यवाद दिनुभयो ।
बेलायतमै जन्मिएका बालबालिकालाई पनि आफ्नो कला र संस्कृतिको ज्ञान दिन र नेपाली कला र संस्कृतिलाई विश्वमाझ चिनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजका संस्थापक अध्यक्ष गंगाधर गौतमले समाजले विगत २० वर्षदेखि बेलायतमा रहेका नेपालीहरुलाई एकताको सुत्रमा बाध्ने काम गरेको स्मरण गर्नुभयो । उहाँले पछिल्लोसमय महिलाले नेतृत्व गरिरहेको संस्था नेपाली कला र संस्कृतीको संरक्षणका लागि बेलायत भर नै उदाहरणीय बनेको बताउनु भयो । कार्यक्रममका समाजका अध्यक्ष लक्ष्मी खरालले, नेपाली भाषा कक्षा सञ्चालन गरेरै नेपाली भाषा, कला र संस्कृतीको जर्गेनाका लागि संस्थाले काम गरिरहेको जानकारी दिदै हरेक आईतबार हुने भाषा कक्षामा सहभागि हुने सम्पूर्ण भाईबहिनीलाई धन्यवाद दिनुभयो । कार्यक्रममा उपस्थित सबैलाई नयाँ वर्षको शुभकामना दिदै उहाँले समाजको आफ्नै भवनका लागि कोष संकलन अभियान शुरु भइसकेको भन्दै सबैको साथ, सहयोग र सहभागिताका लागि आव्हान गर्नुभयो ।
कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवम् साझा नेपाली समाज यूकेका उपाध्यक्ष शिव खराल, गल्कोट समाज यूकेका उपाध्यक्ष सुरेश भण्डारी, बेलायतको सरल सहकारीका अध्यक्ष गुरु भण्डारी, समाजका संस्थापक अध्यक्ष गंगाधर गौतम, पूर्व अध्यक्षहरु मिलन सापकोटा, कृष्ण शर्मा, गोमा पौडेल तथा निवर्तमान अध्यक्ष भिम शर्मालगायत झण्डै दुई सयको सहभागिता थियो ।
कार्यक्रममा समाजको निमन्त्रणामा नेपालबाट आउनुभएकी गायिका सपना रोका मगरले आफ्नो सांगितीक प्रस्तुतिमा सबैलाई झुमाउनु भएको थियो ।




