२७ बैशाख २०८३, आईतवार
Follow Us

भारतीय विद्यार्थी स्कटल्याण्डको संसदमा निर्वाचित

नेपालब्रिटेन संवाददाता
२६ बैशाख २०८३, शनिबार २३:२४

भारतको तमिलनाडुबाट विद्यार्थी भिसामा आएर पढ्दै गरेका क्यु. मणिवन्नन बेलायतमा गत बिहिबार सम्पन्न स्कटिश पार्लियामेन्टको निर्वाचनमा ग्रीन पार्टीबाट सांसद् पदको उम्मेदवार थिए । लिङ्ग परिवर्तन गरेका उनी अल्पसङ्ख्यक लैङ्गिक समुदायभित्र पर्दछन् ।

बेलायतमा सांसद बन्न यहाँको नागरिक हुनु पर्दैन तर फुल टाइम काम गर्न पाइने स्थायी प्रकृतिको भिसा भने आवश्यक हुन्छ । तर हालसालै स्कटल्याण्डले यो नियम पनि अझ खुकुलो बनाएर जुनसुकै भिसा भए पनि चुनाब लड्न मिल्ने बनाएको थियो । यस्तो सुविधा कमन्वेल्थ देशहरू अर्थात् पहिले बेलायतबाट शासित देशहरूका ढाई अरब जति नागरिकले पाउने देखिए पनि बेलायतको भिसा भने लिएको हुनुपर्छ । नेपालजस्ता सधैँ स्वतन्त्र रहेका देशका नागरिकले भने राजनीति गर्न यहीँको नागरिकता लिनुपर्ने हुन्छ । सांसद पदको उम्मेदवार बन्न भोटर लिस्टमा नाम हुनै पर्ने नियम पनि यहाँ छैन ।

उनीसँग रहेको विद्यार्थी भिसामा हप्ताको जम्मा २० घण्टामात्रै काम गर्ने अधिकार हुन्छ । तर संसदको रूपमा उनले फुलटाइम काम गर्नुपर्ने हुन्छ । पढाइपछि उनले काम गर्न पाइने अस्थायी भिसा आवेदन गरिसकेको भन्ने समाचार छ । सांसदले अन्य सुविधाबाहेक एक करोड साठी लाख जति वार्षिक तलब बुझ्छन् ।

रोचक के छ भने उनले जितेको पार्टी पृथकतावादी पार्टी हो । स्कटल्याण्डलाई युकेबाट अलग स्वतन्त्र देश बनाउनुपर्ने माग स्कटिश ग्रीन पार्टीको छ र उनले त्यसका लागि राजनैतिक प्रयास गर्नेछन् । पढ्न या काम गर्न आएको एउटा विदेशी नागरिकले समेत देश छुट्याउनुपर्छ भन्दै राजनीति गर्न र विभिन्न कानुन निर्माण गर्ने संसदसम्म पुग्न मिल्ने अनौठो स्वतन्त्रता यहाँ छ । स्कटल्याण्डमा अझै पनि खनिज तेलको ठूलो भण्डार छ । तर उनको दल तेल निकाल्न तत्काल बन्द गर्नुपर्ने र हरित ऊर्जातिर अघि बढ्नुपर्ने लाइनमा छ । यो वामपन्थी झुकाव भएको पार्टी मानिन्छ । यो चुनाबमा ग्रीन पार्टीले राम्रो प्रदर्शन गरेको छ ।

केही राज्यसभासँगै बेलायतमा सम्पन्न यो स्थानीय निर्वाचनमा आधा दर्जन बढी नेपाली मूलका जनप्रतिनिधि पनि निर्वाचित भएका छन् ! एउटा त दम्पतिले नै चुनाब जित्नुभएको छ ।

यो स्थानीय चुनाबमा ठूलो पराजय बेहोरेसँगै सत्ताधारी लेबर दलका नेता कियर स्टारमरलाई भने प्रधानमन्त्री पदबाट राजीनामा बुझाउने दबाब बढेको छ ।

धेरै पढिएको