डब्लिन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले क्यान्सर रोकथाम र जनचेतना अभिवृद्धि आजको प्रमुख आवश्यकता भएको बताउनु भएको छ। उहाँले विदेशमा रहेका नेपाली समुदायलाई स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्दै सामूहिक प्रयासमार्फत यस्ता अभियानलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनु भयो।
गरिमा मेमोरियल फाउण्डेसन तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको संयुक्त आयोजनामा क्यान्सर रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य शिविर डब्लिन–१ स्थित टिचर क्लबमा भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि डा. शर्माले यस्ता कार्यक्रमहरूले प्रवासमा रहेका नेपालीबीच स्वास्थ्य चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।
कार्यक्रमको सभापतित्व एनआरएनए आयरल्याण्डका अध्यक्ष चेतराज ओलीले गर्नु भएको थियो भने गरिमा मेमोरियल फाउण्डेसनका अध्यक्ष गंगाराम कँडेलले स्वागत मन्तव्य राख्दै संस्थाका गतिविधिबारे जानकारी गराउनु भएको थियो।
सो अवसरमा अध्यक्ष डा. शर्माले एनआरएनए आयरल्याण्डद्वारा सञ्चालित नेपाली भाषा तथा संस्कार कक्षाको अवलोकन गर्नु भएको थियो। उहाँले नेपाली भाषा र संस्कृतिको संरक्षण प्रवासमा झनै आवश्यक रहेको बताउनु भयो।
कार्यक्रमको दोस्रो चरण अन्तर्गत अन्तरक्रिया कार्यक्रममा अध्यक्ष डा. शर्माले आफ्नो आयरल्याण्ड भ्रमणको मुख्य उद्देश्य आगामी अगस्ट १० र ११ मा आयोजना हुने युरोपियन रिजनल मिटिङको तयारीबारे छलफल गर्नु रहेको बताउनु भयो। उहाँले उक्त बैठकको महत्व, आयरल्याण्डलाई पुग्ने फाइदा तथा यसको आवश्यकता बारे प्रष्ट पार्नु भयो।
त्यसैगरी, अध्यक्ष डा. शर्माले हालै आफू निर्वाचित भएपछि नेपाल सरकारसँग भएका नीतिगत छलफलहरूबारे जानकारी गराउँदै एनआरएनए नागरिकता, सम्पत्ति खरिद–बिक्री अधिकार, एनआरएनए कार्ड लगायतका विषयमा संघको स्पष्ट धारणा रहेको बताउनु भयो।
कार्यक्रममा पूर्व अध्यक्षहरू गणेश प्रसाई, राजन काफ्ले, नव राज कोइराला, विनोद कार्की तथा प्रकाश सापकोटाले आ–आफ्ना मन्तव्य राख्नु भएको थियो। साथै पूर्व आइसीसी सदस्य सागर लामा, गंगाराम कँडेल र जंग अधिकारीको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमको समापन गर्दै सभापति चेतराज ओलीले कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको मेहनत र सामूहिक एकताप्रति प्रशंसा व्यक्त गर्नु भयो। उहाँले उपस्थित सम्पूर्ण सहभागीप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउनु भयो।







